तपाईँ सुन्दै हुनुहुन्छः

जोखिम भत्ता नपाएको भन्दै डाक्टरहरु अनुपस्थित भएपछि अस्पतालको सेवा प्रभावित

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले बुटवलमा संचालन गरेको कोरोना विशेष अस्पतालमा कार्यरत चिकित्सकले जोखिम भत्ता नपाएको भन्दै अनुपस्थित भएपछि अस्पतालको सेवा प्रभावित बनेको छ ।

महामारी बढ्दै गएपछि अस्पतालको सेवा प्रवाहका लागि अस्पतालले सातजना मेडिकल अफिसरलाई गत साउनदेखि करार सेवामा नियुक्त गरेको थियो । तर सातैजना चिकित्सक कोरोना जोखिम भत्ता नपाएको भन्दै बुधवारदेखि सेवामा नफर्किएपछि अस्पतालमा कार्यरत कन्सल्टेन्ट र नर्सिङ स्टाफहरु खटाएर सेवा प्रदान गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले सातैजना चिकित्सकले कोरोना जोखिमभत्ता नपाए सेवामा नआउने भन्दै मंगलबार मात्रै अल्टिमेटम दिएको र बुधवारदेखि नै काममा नआएको बताउनुभयो । डा. खनालले करार सेवाका चिकित्सकहरुले मंगलबार दिएको निवेदनपछि सामाजिक विकासमन्त्री र मन्त्रालयका सचिवसंग छलफल गरी प्रकृया पूरा गरी तिहारपछि जोखिमभत्ता उपलब्ध गराउने सहमति भएको बताउनुभयो । तर कोरोनाजस्तो महामारीको समयमा भत्तालाई बहाना बनाएर सेवा प्रभावित बनाउन खोज्नु चिकित्सकिय मर्यादा र आचरणविरुद्धको काम भएको बताउनुभयो । अस्पतालले मेडिकल अफिसरहरु विशाल झा, कल्याण रेग्मी, प्रतिमा भण्डारी, पूजन ज्ञवाली, राजेश लिम्बु, सविता अर्याल र एलिसा सिंहलाई करार सेवामा भर्ना गरेको थियो ।

सात महिनादेखि सञ्चालित सो अस्पतालमा कार्यरत स्थायी सेवाका चिकित्सक तथा नर्सिङ स्टाफले समेत कोरोना जोखिम भत्ता नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button