तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत उत्पादनका लागि लगानी जुटाउन सहकार्य

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले सरकारको लक्ष्य अनुसार विद्युत उत्पादनका लागि लगानी जुटाउन सहकार्यलाई तीव्र बनाएको छ ।

जलविद्युत् आयोजनाका लागि स्वपूँजी जुटाउने लक्ष्यका साथ स्थापना गरिएको सो कम्पनीले हालसम्म २० अर्ब रुपैयाँ बराबरको लगानी गरेको छ भने थप लगानीका लागि सहकार्यलाई तीव्र बनाएको छ ।

कम्पनीले हालसम्म ५ सय १५ दशमलव ४ मेगावाट क्षमताका विभिन्न १३ वटा आयोजनामा १० अर्ब आठ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै स्वपूँजीतर्फ ७ सय ८७ दशमलव ३ मेगावाट क्षमताका पाँच आयोजनामा आठ अर्ब तीन करोड रुपैयाँ र पाँच वटा सरकारी कम्पनीमा एक अर्ब एक करोड गरी नौ अर्ब चार करोड रुपैयाँ लगानी गरेको छ ।

कम्पनीको पाँचवर्षे व्यावसायिक कार्ययोजना अनुसार आर्थिक बर्ष २०७८÷०७९ को अन्त्यसम्म कूल तीन हजार ३ सय ३९ मेगावाट क्षमताका विभिन्न २३ अयोजनामा ६५ अर्ब रुपैयाँ स्वपूँजी लगानी गर्ने तयारी गरेको छ ।

यस्तै दुई हजार ८ सय १० मेगावाट क्षमताका १४ आयोजनामा करिब ४९ अर्ब रुपैयाँ ऋण लगानी गरि कम्पनीले समग्रमा चार हजार ३ सय ६७ मेगावाट क्षमताका आयोजना अगाडि बढाउने लक्ष्य लिएको छ ।

सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई कम्पनीको तर्फबाट विशेष महत्व दिएर अगाडि बढाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button