विद्युत् सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम अन्धकार

मुगु । मुगु जिल्ला सदरमुकाममा वितरित विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकाम लगायत आसपासका क्षेत्र अन्धकार भएको छ ।
नेपाल विद्युत् प्राधिकरण अन्तरगत गमगाढ वितरण केन्द्रको पावर हाउसमा रहेको गर्भनरको प्रेसर मोटर जलेर समस्या आउँदा बुधवार रातीबाट विद्युत् सेवा अवरुद्ध भएको हो ।
विद्युत् सेवा अवरुद्ध हुँदा छायानाथ रारा नगरपालिकाका १४ वडाहरू मध्ये विधुत सेवा पुगेका ११ वडामा रहेका २ हजार ८०४ ग्राहक अँध्यारोमा बस्नु परेको छ भने सरकारी,गैर सरकारी र वित्तीय सस्थाहरुमा कामकाज गर्न समस्या भएको छ ।

बुधवार राती ११ बजे पावर हाउसमा रहेको मोटरमा समस्या आएर बिद्युत् उत्पादनमा अवरोध आएको थियो । मुगु जिल्लाका करिब १०हजार घरधुरीलाई लक्षित गरी स्थापना गरिएको गमगाढ साना जलविद्युत आयोजना पटक पटक बिग्रिन थाले पछि स्थानीय बासिन्दाले सास्ती बेहोर्दै आएका छन् ।
मासिक रूपमा करिब ३९ हजार ६ सय ७ युनिट बत्ती खपतबाट करिब ३ लाख ५० हजार रुपैयाँ मासिक आम्दानी हुने गरेको गमगाड साना जलविद्युत आयोजनाले जनाएको छ ।
कुल ४ सय किलोवाट बिद्युत् उत्पादन क्षमता रहेको बिद्युत् उत्पादन केन्द्रमा जडित चाइना कम्पनीका यी मोटरहरू ५,६ पटक रिपियरिङ्ग गरेर काम चलाउ गदै आएको भएपनि पटक पटक विभिन्न पाटपुर्जाहरुमा समस्या आउने गरेकाले प्राधिकरणले पुरानो प्रविधिको विधुत उत्पादन सिस्टमलाई विस्थापित गरी आधुनिक सिस्टमका मेसनिहरु जडान गरी विधुत उत्पादन गर्नु पर्ने गमगाड साना जल बिद्युत् आयोजना मुगुका निमित्त कार्यालय प्रमुख रामबहादुर महतले बताउनु भयो ।

यस अघि पनि साउन २३ गते नोजलमा समस्या आउँदा मर्मत तथा नयाँ खरिदका लागी पहल भइरहेको थियो भने काम चलाउ गरेर त्यस यता विद्युत् उत्पादन हुँदै आएको थियो । तत्कालीन लामो समयसम्म आयोजना सम्पन्न नहुदा खिया लागेर अलपत्र रूपमा सुर्खेत,रारा विमानस्थल र बालैबगरमा रहेका विद्युत् मेसिनहरू नै जडान गरेर गमगाढ साना जलविद्युत आयोजनाले विधुत उत्पादन गरेकाले पटक पटक विद्युत् उत्पादनमा समस्या आउने गरेको छ ।
समय मै विद्युत् गृहमा रहेका पुराना मेसिन तथा अन्य सामान परिवर्तन नगर्ने हो भने जुनसुकै बेला ती मेसिनहरूमा समस्या आई लामो समयसम्म जिल्ला सदरमुकाम र आसपासका क्षेत्र अन्धकार मै रहनु पर्ने अवस्था आउन सक्ने गमगाढ वितरण केन्द्रका कर्मचारीहरूले बताउने गरेका छन् ।

विद्युत् गृहमा जडित मेसिनहरू पुरानो मोडलका भएका र अहिले बजारमा त्यो मोडलका सामानहरू पाउन मुस्किल हुने गरेको छ । विद्युत् गृहमा सानो सानो समस्या आएपनि चाइनाको कम्पनीसँग सोध्नु पर्ने र त्यहीबाट सामान उठाउनु पर्ने अवस्थाले झन् समस्या हुने गरेको गमगाढ वितरण केन्द्रले बताएको छ ।







प्रतिक्रिया राख्नुहोस्