‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकार आवश्यक तयारीका साथ लागिरहेको छ’

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारीका साथ सरकार लागिरहेको बताउनुभएको छ ।
भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. खतिवडाले अस्पतालको क्षमता बिस्तार र उपकरणको प्रबन्ध गर्दै यसको उपचारमा सरकार अगाडी बढिरहेको र यस कार्यमा सरकारका सबै निकायसँगै निजी क्षेत्रसमेत लागिरहेको बताउनुभयो ।
सञ्चार मन्त्री डा. खतिवडाले सरकारको यस प्रयासमा आम जनताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सुरक्षा सजगता अपनाउने र लक्षण देखिएकालाई अस्पतालमा उपचारमा प्राथमिकता दिनुपर्छ भन्ने सोच राखेर त्यस अनुरूपको व्यवहार सबैले देखाउनु पर्ने बताउनुभयो ।
सञ्चार मन्त्री डा. खतिवडाले विदेशबाट पीसीआर गराई आएका नेगेटिभ देखिएका व्यक्ति सिधै होम क्वारेन्टाईनमा जान सक्ने तर होटेल क्वारेन्टाईनमा बस्नुपर्ने भएमा आफ्नो इच्छा अनुसारको सस्तोदेखि महँगा होटेलहरूमा क्वारेनटाइन बस्न सक्ने व्यवस्था मिलाइएको स्पष्ट पार्नुभयो ।
कुलमान घिसिंगको पुनर्नियुक्तिका सन्दर्भमा सामाजिक सञ्जाल तथा केही अनलाइनमा आएका समाचारका विषयमा सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री डा. खतिवडाले त्यस सम्बन्धमा कुनै प्रस्ताव मन्त्रीपरिषद्मा नआएकोले पुनर्नियुक्तिका सन्दर्भमा आएका समाचार सत्य नभएको स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्