विद्युत् अवरुद्ध हुँदा तीन सय घरपरिवार अन्धकारमा बस्न बाध्य

सल्यान । विजय लघु जलविद्युत परियोजना अवरुद्ध हुँदा जिल्लाको बागचौर नगरपालिका–१२ का तीन सय बढी घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
यही भदौ ३ गते राती आएको बाढी पहिरोले पावर हाउस र विद्युत्का पोलहरूमा क्षति पुर्याएपछि सिङ्गो गाउँ नै अन्धकारमा बस्न बाध्य भएका हुन ।
बाढी पहिरोले पावर हाउस र विद्युत्का पोलमा क्षति पुर्याउदा ३५ लाख बढीको क्षति भएको जलविद्युत परियोजनाका अध्यक्ष सुनिल कुमार केसीले बताए । उनले भने ‘कुलो, पावर हाउसको घर र ६५ वटा विद्युत्का पोल र झन्डै ७५ प्रतिशत तारमा क्षति पुगेको छ ।’ १० किलोवाटको जल विद्युत्बाट तीन सय बढी घरपरिवारले सुविधा लिँदै आइरहेका थिए ।
स्थानीय स्रोत साधनबाट जलविद्युत सञ्चालन गर्न असम्भव देखिएको उनको भनाई छ । ‘बाढी पहिरोले घरबार विहीन भएका सेवाग्राहीसँग पैसा उठाउन सक्ने अवस्था पनि छैन । आन्तरिक स्रोतले पनि मर्मत गर्ने अवस्था छैन । यसको लागि प्रदेश र सङ्घले विशेष पहल चाल्न जरुरी छ’ उनले भने ।
एक करोड लगानीमा वि.स.२०६४ मा निमार्ण गरिएको जल विद्युत् परियोजनामा २०७५ मा पनि क्षति पुर्याएको थियो । २०७५ मा आएको बाढीले कुलो भत्काउँदा सेवाग्राहीले श्रमदान गरेर निमार्ण गरेको बताउँदै सचिव गोपाल खत्रीले यो वर्ष भने थोरै लगानीले मर्मत सम्भव नरहेको बताए ।
बाढी पहिरोले विद्युत् अवरुद्ध हुँदा घरायसी काम गर्न निकै समस्या हुने गरेको स्थानीयको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्