तपाईँ सुन्दै हुनुहुन्छः

‘कोरोनाको समस्या समाधानमा सबैको साझा प्रयास आवश्यक’

काठमाडौं । अर्थमन्त्री एवं संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोना सबैको समस्या भएकाले यसको समाधानमा पनि सबैको एकताबद्ध प्रयासको आवश्यकता औल्याउनु भएको छ ।

नेपाल प्रेस ईन्स्टिच्युटले प्रकाशन गरेको कोभिड १९ ले नेपालको पत्रकारितामा पारेको प्रभाव सम्बन्धी प्रतिवेदन आज सार्वजनिक गर्नुहुँदै मन्त्री खतिवडाले कोरोनाका कारण सञ्चार जगत, पत्रकार र अग्रपंक्तिमा रहेर काम गर्नेहरुमा परेको समस्या समाधानमा सरकारको सहयोग रहेको बताउनुभयो ।

मन्त्री खतिवडाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभाव सञ्चार जगत र पत्रकारहरुमा परेकोले उनीहरुको सुरक्षाका लागि आवश्यक पर्ने उपकरणहरु सरकारले सर्वसुलभ रुपमा उपलब्ध गराउने र सञ्चार गृहहरुले पनि आफ्ना पत्रकारहरुको सुरक्षाका लागि आवश्यक ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डाक्टर खतिवडाले प्रतिवेदनको अध्ययन गरी कार्यान्वयनमा लैजाने र विपद्को बेलामा अपनाउनुपर्ने सञ्चार रणनीतिका विषयमा सम्बन्धित पक्षसँग छलफल गरी अवधारण निर्माण गर्न सरकार लागिरहेको जानकारी दिनुभयो ।

भिडियो कन्फ्रेन्समार्फत गरिएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल प्रेस ईन्स्टिच्युटका अध्यक्ष निलकण्ठ उप्रेतीले ७ वटै प्रदेशका प्राय सबै सञ्चार गृहमा पुगेर ११ सय ३४ जना पत्रकारहरुलाई प्रत्यक्ष भेटी उनीहरुको समस्या समेटेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, क्रियाशील पत्रकार महिला समुहका अध्यक्ष अम्बिका राजथला लगायतले विपद्को बेलामा कतिपय सञ्चारगृहले पत्रकारहरुलाई कामबाट निष्कासन गरेको अवस्थामा यही क्षेत्रलाई पेशा बनाएर अगाडी बढ्न सक्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्राध्यापक रामकृष्ण रेग्मीले विपद् प्रतिकारका लागि पत्रकारहरु कसरी तयारी अवस्थामा रहने भन्ने विषयमा प्रतिवेदनले आधारस्तम्भ तयार परेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button