तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका सक्रिय संक्रमितहरु होम आईसोलेशन रोज्दै

जनकपुरधाम । प्रदेश नंं २ को विभिन्न जिल्लाहरुमा विगत केही समय देखि पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेपछि होम आईसोलेशनमा बस्नेहरुको संख्या बढ्न थालेको छ ।

खास गरेर विद्यालयहरुमा निर्माण गरिईएको क्वारेन्टाईन खाली गरेको र सरकारी स्तरमा निर्माण भएको आईसोलेशनको व्यबस्थापन चुस्त एवं दुरुस्त नभएपछि होम आईसोलेशनमा बस्नेको संख्या बढ्न थालेकोे छ । कतिपयले घरमा नै बस्दा राम्रो हुने भएकाले बस्ने गर्नु भएको छ ।

खास गरेर प्रदेश नंं २ मा कूल २ हजार ८ सय ८९ सक्रिय संक्रमित मध्ये होम आईसोलेशनमा बस्नेहरुको संख्या १ हजार ८ सय १९ पुगेको सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनु भएको छ ।

सामुहिक रुपमा निर्माण गरेको आईसोलेशन वेडको संख्या ३ हजार ९२ भएपनि धेरै खाली हुदा पनि सर्वसाधारणहरु होम आईसोलेशनमा बस्न रुचाउन थालेका छन् । सामुहिक आईसोलेशनमा १ हजार ७० जना मात्र कोरोनाका संक्रमित बिरामीहरु उपचारमा रहनु भएको छ ।

होम आईसोलेशनमा बस्दा पनि स्थानीय चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहने गरेको मन्त्रालयले दाबी गरेको छ । रौतहट जिल्लामा सबै भन्दा बढी ५ सय ५८ जना संक्रमित होम आईसोलेशनमा बस्नु भएको छ । दोश्रो बढी होम आईसोलेशनमा बस्ने जिल्लामा महोत्तरी जिल्ला रहेको छ । यस जिल्लाका ५ सय ४० जना होम आईसोलेशनमा रहनु भएको छ ।

यसै गरी पर्सा जिल्लाका ४ सय १९ जना संक्रमित होम आईसोलेशनमा बस्नु भएको छ । धनुषाका १ सय ५२ जना, सर्लाहीका ६१ जना, सप्तरीका ४४ जना, सिरहाका ३२ तथा बाराका १७ जना होम आईसोलेशनमा बस्नु भएको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख रहेको छ ।

सामुहिक तथा संस्थागत आईसोलेशनमा बस्दा सरकारको दायित्व भएपनि होम आईसोलेशनमा बस्दा कोरोना संक्रमित आफै जिम्मेवार रहने भएकाले मापदण्ड विपरीतको होम आईसोलेशनवाट समुदायमा कोरोना फैलिने जोखिम बढी हुने चिकित्सकहरुले जानकारी दिनु भएको छ ।

मापदण्ड विपरीतको होम आईसोलेशनबाट कोरोना संक्रमितबाट घर परिवार हँुदै समुदायमा संक्रमण फैलाउने खतरा रहने भएकाले यस तर्फ सम्बन्धित व्यक्ति आफै सजग हुन जरुरी रहेको प्रादेशिक अस्पताल जनकपुरधामका कोरोना विषेश अस्पतालका संयोजक डा. जामुन सिंहले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button