तपाईँ सुन्दै हुनुहुन्छः

घरबास नउठाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन

प्रतिनिधि सभा कानून, न्याय तथा मानव अधिकार समितिले वैकल्पिक व्यवस्था विना चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज वरीपरीका क्षेत्रमा पर्ने घरबास नउठाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

चितवनको माडी नगरपालिका वडा नं.९ कुसुम खोलामा रहेको चेपाङ वस्ती हटाइएको र बर्दिया राष्ट्रिय निकुञ्ज वरपरका स्थानीय बासिन्दा र व्यवसायीमाथी निकुञ्ज प्रशासनद्वारा भएको दुव्र्यवहार सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकले विपदको समयमा हात्ती लगाएर घर भत्काउनु र आगजनी गर्ने कार्य संविधान र मानव अधिकार विरुद्ध भएको भन्दै वैकल्पिक व्यवस्था बिना घरबास नउठाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

यस्तै समितिले चितवनको माडी नगरपालिका वडा नं.९ कुसुम खोलामा रहेको चेपाङ बस्तीमा हात्ती लगाएर घर भत्काउन र आगजनी गर्र्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन पनि वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले राप्ती नगरपालिका वडा नं २ चितवनका २४ वर्षिय राजकुमार चेपाङ लाई निकुञ्ज भित्र नेपाली सेनाले पक्राउ गरी याताना दिएर मृत्यु भएको विषयको सत्य तथ्य पत्ता लगाई दोषी उपर कारवाही र मृतकको परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

बैठकमा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले चेपाङ बस्तीमा भएको घटनाको सत्य तथ्य पत्ता लगाउन मन्त्रालयले कार्यदल बनाई अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button