तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश राजधानी हेटौंडाको मुख्य नाकामा स्यानिटाइजिङ टनेल सञ्चालन

मकवानपुर । वागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने मुख्य नाका रातोमाटेमा आजबाट स्यानिटाजिङ टनेल सञ्चालनमा आएको छ ।

प्रदेशको राजधानी प्रवेश गर्ने मुख्य नाका पूर्वपश्चिम राजमार्ग अन्तगत हेटौंडा–१५ रातोमाटेमा निर्माण भएको सेल्फसेन्सरसहितको आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ को आज मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो ।

हेटौंडा–१५, रातोमाटेमा स्थापना गरिएकोे स्यानिटाइजिङ टनेलको मुख्यमन्त्री चढ्ने गाडीको स्यानिटाइज गरेर उद्घाटन गरिएको थियो । टनेल उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अन्य प्रदेशबाट वागमती प्रदेश प्रवेश गर्ने सडकमार्गमा सवारीसाधनको स्यानिटाइज गर्ने कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिने बताउनुभयो ।

उहाँले प्रदेश प्रवेश गर्ने विभिन्न नाका मध्ये २ नम्बर प्रदेशसँगको नाकामा पहिलो स्यानिटाइजिङ टनेल निर्माण गरेको प्रदेश सरकारले थप नाकामा पनि टनेल निर्माण गरिने बाउनुभयो ।

२ नम्बर प्रदेशबाट आउने गाडीहरुलाई निःसंक्रमण गर्ने र कोरोना भाइरस रोकथाममा सहयोग पुग्ने विश्वासका साथ प्रदेश सरकारले दुइलाख ७० हजारको लागतमा टनेल निर्माण गरेको हो । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ, जसले कोरोना भाइरस पनि नष्ट हुने विश्वास लिइएको छ ।

विशेष गरी कोरोना संक्रमित क्षेत्र प्रदेश नम्बर २ बाट वागमती प्रदेश प्रवेश गर्ने सवारी साधनलाई स्यानिटाइज गर्न प्रदेश सरकारले स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याएको जनाएको छ ।

स्यानिटाइजिङ टनेल निर्माणमा मकवानपुर उद्योग वाणिज्य संघ, हेटौंडा उपमहानगरपालिकासँगै रातोमाटेका स्थानीयले पनि सहयोग गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभएको छ ।

आज सञ्चालनमा आएको तथा मानिसलाई स्यानिटाईजिङ गर्ने अहिले सम्म हेटौंडामा ५ वटा मेसिन सञ्चालनमा आइसकेका छन् । यसअघि हेटौंडा उपमहानगरपालिकाले रातोमाटे र उपमहानगरपालिका प्रवेश गर्ने गेटमा, उद्योग बाणिज्यसंघले हेटौंडा अस्पताल गेटमा, लायन्स तथा लियो क्लबहरुले जिल्ला प्रहरी कार्यालय गेटमा मानिसलाई स्यानिटाइज गर्ने स्यानिटाइजर मेसिन सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button