तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली च्याउ खाँदा १९ जना बिरामी

चितवन । जंगली बिषालु च्याउ खाएर चितवनमा १२ जना र नवलपुरमा सात जना बिरामी परेका छन भने दुई जना सिकिस्त बिरामी भएका छन ।

बिषालु च्याउ खाँदा कालिका–३, पदमपुरका सात जना र भरतपुर–२९, जुगेडीका ५ जना बिरामी परेका हुन ।

पदमपुरका ३४ बर्षिय शिव चौधरी २७ बर्षिय समिक्षा चौधरी २४ बर्षिय अनिता चौधरी २५ बर्षिय निरजकुमारी चौधरी ४० बर्षिय सीतावती देवी ४५ बर्षिय लखन चौधरी र २७ बर्षिय पुजा चौधरी रहेका छन। उनीहरुको अहिले भरतपुर सामुदायिक हस्पिटलमा उपचार भइरहेको छ ।

बिरामी मध्ये २४ बर्षिय अनिता चौधरीको अबस्था गम्भीर रहेको अस्पतालका वरिष्ठ फिजिसियन डा.महेन्द्र अग्रहरीले जानकारी दिनुभयो ।

उनीहरूले अस्ति नजिकैको जङ्गलबाट च्याउ ल्याइ खाएका थिए । सो च्याउ खाएका उनीहरू हिजो उपचारका लागि अस्पताल पुगेका थिए ।

त्यस्तै भरतपुर महानगरपालिका–२९ जुगेडीमा एकै परिवारका पाँच जना बिरामीको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उहाँको २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरी १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन् ।

उनीहरुले पनि घर नजिकै रहेको वनबाट टिपेर ल्याएको च्याउ शनिबार साँझ खाएका थिए ।

च्याउ खाएसँगै बिरामी परेपछि उनीहरुलाई पनि हिजो बिहान भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । बिरामी मध्ये वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको चितवन प्रहरीले जनाएको छ ।

उता पूर्वी नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा पनि शनिबार राति जंगली च्याउ खाँदा सात जना बिरामी परेका थिए ।

उनीहरु मध्ये तीन जनाको मध्यबिन्दु अस्पतालमा उपचार भएको र चार जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गरि हिजो घर फर्किएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button