तनहुँमा जिल्ला बाहिरका तरकारी प्रवेशमा रोक, स्थानीय तरकारी र फलफूल मात्रै बिक्री गरिने

तनहुँ । तनहुँमा जिल्ला बाहिरबाट आउने तरकारी प्रवेशमा रोक लगाउने निर्णय भएको छ । तनहुँका स्थानीय तहहरुले कोरोनाको जोखिम बढेको भन्दै बिभिन्न छिमेकी जिल्लाबाट आउने तरकारी जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।
तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकाको अगुवाईमा शनिबार बसेको केही स्थानीय तह, सुरक्षा अधिकारी तथा व्यवसायीहरुको संयुक्त बैठकले देशका अन्य जिल्ला र छिमेकी देश भारतबाट आउने तरकारीलाई जिल्ला प्रवेशमा रोक लगाएको हो ।
उक्त बैठकले जिल्लामा भारत र चीनबाट आउने फलफूल आयातमा समेत प्रतिबन्धको लगाएको छ ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले देशभर बढिरहेको कोरोनाको जोखिमलाई मध्यनजर गरी यस्तो निर्णय गरिएको बताउनुभयो ।

बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले स्थानीय तहहरुले आफ्नो क्षेत्रमा जोखिम कम गर्ने हिसाबले निर्णय गरेको बताउनुभयो ।
जिल्लाका अन्य स्थानीय तहसँग समेत यस विषयमा थप छलफल र सहकार्य गरिने बैठकमा सहभागी जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो ।
जिल्लाभित्रका किसानले उत्पादन गरेको तरकारीले उचित बजार नपाउदा दुःखित किसान भने यो निर्णयसँगै खुशी भएका छन ।
जिल्लाको आबुखैरेनी गाउँपालिकाबाट मात्रै दैनिक २० हजार किलो तरकारी आपूर्ति गर्न सकिने किसानहरु बताउछन ।
साथै दमौली बजार गत चैत १ गते देखि बिहान ७ बजे देखि १० बजेसम्म खोल्ने निर्णय भएको थियो तर व्यवस्थित नभएकाले घरको एक जना मात्रै सामान खरिद गर्न जान अनुरोध गर्ने निर्णय गरिएको छ । एक हप्ता सम्म पनि सुधार नभए थप कडाइ गर्ने उक्त बैठकले निर्णय गरेको छ ।

सम्झौता भइसकेको सार्वजनिक निर्माणका काम स्थानीय निर्माण सामाग्री र कामदार प्रयोग गरि सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सुचारु गर्ने निर्णय समेत भएको छ ।
मृत्यु भएमा धर्म परम्परा अनुसार काजकिरिया गर्न, जटिल बिरामी आवातजावत र अत्यावश्यक सामान ढुवानी बाहेक अन्य सवारी साधन आवातजावतमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।
आइसोलेसन अस्पतालको पहुँचबाहिर भएपछि क्वारेन्टाइन !
कोरोना संक्रमित बिरामी राख्नका लागि बनाइएको आइसोलेसन अस्पतालको पहुँच बाहिर भएपछि क्वारेन्टाइन बनाइने भएको छ ।
व्यास गुफा नजिक क्रियापुत्री भवनमा बनाइएको आइसोलेसन दमौली अस्पतालको पहुँच बाहिर भएको भन्दै शनिबार बसेको वर्तमान कोभिड–१९ को विरुद्धको अभियानको समिक्षा बैठकले उक्त भवनलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।
उक्त भवनमा सट्टा दमौली अस्पतालको पुरानो भवनलाई आइसियुसहितको उपचार केन्द्र बनाउने गरि तत्काल पुर्वाधार निर्माण गर्ने निर्णय गरेको छ ।
औषधि पसलहरु नियमित खुलाउनुपर्ने गुनासो आएको हुँदा नियमित खोल्न अनुरोध गर्ने र अनुगमन समेत गर्ने उक्त बैठकले निर्णय गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्