राष्ट्र बैंकलाई महासंघको ८ बुँदे सुझाव
नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक पुनरूद्धारका लागि राष्ट्र बैंक समक्ष आइतबार ८ वुँदे सुझाव पेश गरेको छ ।
महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीसंग भेट गरी मुलुक लकडाउनमा रहेका कारण उद्योग, व्यापार तथा व्यवसायमा पर्न गएको असर बारेमा ध्यानाकर्षण गराउंदै सुझाव दिएको हो ।
बैंक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा कर्जा स्वीकृत गरी ऋण लिई पौष मसान्तसम्म नियमित कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई स्वीकृत सीमा भन्दा बढीमा १० प्रतिशतसम्म थप कर्जा दिन सक्ने व्यवस्था तत्कालै गरिनु पर्ने, ऋणीले त्यसतो थप कर्जा १२० दिन भित्र चुक्ता गर्ने व्यवस्था मिलाइनु पर्ने सुझाव महासंघले दिएको छ ।
बैंकको ब्याज लागतलाई न्यूनिकरण गर्न पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रको कम्पनी तथा फर्मको एक वर्षको व्याज दुई प्रतिशत ब्याज दरमा हुने गरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने ।
त्यसतो ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा दुई वर्ष भत्र तिर्ने व्यवस्था मिलाइनु पर्ने । साथै साना, मझौला र ठूला कम्पनी तथा फर्मको छ महिनाको व्याज दुई प्रतिशत ब्याज दरमा हुनेगरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने र ऋण किस्ता बन्दिमा एक वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने सुझाव महासंघले दिएको छ ।
त्यसै गरी महासंघले सबै प्रकारको कर्जाको ब्याजदर तीन प्रतिशत बिन्दुले घटाइनु पर्ने र बचत र ऋण बिचको ब्याजदर अन्तरलाई ०.५ प्रतिशत बिन्दुले घटाइनु पर्ने लगायतका सुझाव दिएको छ ।
भेटमा नवनियुक्त गभर्नर अधिकारीले कोरोनाको कारण मुलुकको अर्थतन्त्रमा पर्ने प्रभावका विषयमा राष्ट्र बैंकले अध्यनलाई अगाडी बढाएकोले महासंघले दिएको सुझाव थप सहयोगी हुने बताउनु भएको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्