तपाईँ सुन्दै हुनुहुन्छः

राजर्षी जनक कप फुटबलको उपाधि पुलिस क्लबलाई

सर्लाही । नेपाल पुलिस क्लबले आइतबार चौथो राजर्षी जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

सर्लाहीको वागमतीमा भारत सिलगुढीको कन्चनजंगा एफसीलाई २–१ ले हराउँदै पुलिसले उपाधि जितेको हो । पुलिसको यो वर्षको पहिलो उपाधि हो ।

शनिबार मात्रै पुलिसको अर्को टोली आहा रारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग टाइब्रेकरमा पराजित भएको थियो । त्यसअघि पुलिस गत महिना नवलपुरमा राइनो कपको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।

सन्तोष श्रेष्ठ स्मृति मैदानमा आइतबार भएको खेलमा पुलिसका तीर्थ रानामगर र कप्तान जुमानु राईले गोल गरेका थिए । कन्जनजंगाका लागि अमिरले गोल फर्काएका थिए ।

पुलिसले उपाधिसहित १० लाख रुपैयाँ र कन्चनजंगाले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगिता वागमती नगरपालिका र वागमती युवा क्लबले संयुक्त रुपमा आयोजना गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button