विश्वकप लिग २ मा नेपालको यात्रा कठिन
काठमाडौँ । लगातार ३ हारसँगै विश्वकप लिग २ मा नेपालको यात्रा अत्यन्त कठिन स्थितिमा पुगेको छ । नेपाल अब टप ४ मा अटाउने गणितीय सम्भावना पनि बाँकी छैन ।

शतप्रतिशत जित निकाल्ने लक्ष्य र दबाबसहित नेदरल्याण्ड्स पुगेको नेपालले ठिक उल्टो प्रदर्शन गरेको छ । पहिलो र दोस्रो म्याचमा नेपालले नामिबिया र नेदरल्याण्ड्सलाई कडा चुनौती नै दिन सकेन ।
सोमबार भएको तेस्रो म्याचमा नामिबियाविरुद्ध सङ्घर्ष गरे पनि ३ रनको हार स्विकार्न बाध्य भयो । यससँगै नामिबिया अङ्कतालिकामा पाचौं स्थानमा उक्लिएको छ भने नेपाल छैटौँ स्थानमा खस्केको छ । अहिलेसम्म ३२ वटा म्याच खेलेको नेपाल केवल ११ जितसहित छैटौँ स्थानमा रहेको हो । सातौं स्थानमा रहेको क्यानडाले नेपालभन्दा तीन म्याच कम खेलेको छ भने युएईले ७ म्याच कम खेलेको छ । आगामी म्याचमा यी दुवै देशले थप अंक बटुलेर नेपाललाई पछि पार्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
विश्वकप लिग २ नेपाली क्रिकेटको लाइफलाइन जस्तै हो । यसले नेपाली टिमलाई अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहन र बलिया प्रतिस्पर्धीहरूसँग लगातार मुकाबिला गर्न अवसर दिएको छ ।
लिग २ मा एसोसियट क्रिकेटका बलिया ८ राष्ट्र (अमेरिका, नेदरल्याण्ड्स, स्कटल्याण्ड, क्यानडा, नामिबिया, ओमान, युएई र नेपाल)हरू सहभागी छन् । प्रत्येक टिमले एउटा लिग २ सर्कलमा तीन वर्षभित्र ३६ वटा म्याच खेल्छन् ।
सर्कल पूरा भएपछि अंक तालिकामा टप ४ मा रहने टिमले एक दिवसीय विश्वकपको क्वालिफायर खेल्न पाउने प्रावधान छ । साथै उनीहरूको एक दिवसीय मान्यता थप ४ वर्षका लागि सुरक्षित बन्नेछ । क्वालिफायरमा टप २ हुने टिम एक दिवसीय विश्वकपमा छनोट हुन्छन् ।
नेपालले लिग २ बाट सोझै एक दिवसीय विश्वकपको क्वालिफायर खेल्ने सम्भावना समाप्त भइसकेको छ । तर, क्वालिफायर खेल्नका लागि अन्तिम विकल्प बाँकी छ ।







प्रतिक्रिया राख्नुहोस्