तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा कोरोनाको संक्रमण रोक्न चीनले अपनाएको विधि र औषधि सहयोग गर्न तयार: राजदूत यान्छी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच कोरोनाभाइरसको सङ्क्रमणले ल्याएको समस्या, नियन्त्रण, रोकथामको उपाय र पूर्व तयारीका बारेमा छलफल भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभव बारेमा जानकारी दिनुभयो । राजदूत यान्छीले कोरोनाभाइरसको सङ्क्रमणबाट पीडित भएका ८० हजार ९ सय बिरामी मध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताउनुभयो ।
राजदूत यान्छीले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको पुरा सहयोग रहने बताउनुभयो ।
उहाँले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सतर्कता र तयारीको प्रशंसा गर्दै चीनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामको लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको बताउनुभयो ।
भेटमा मन्त्री भट्टराईले कोरोनाभाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले कोरोनाभाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिदै अन्तर्राष्ट्रिय विमानस्थलमा चेकचाज, अस्पतालहरुमा बेडको व्यबस्थापन, आवश्यक क्वारेन्टाइनको व्यबस्था लगायतका बिषयमा सरकारले गरिरहेको तयारीको बिषयमा मन्त्री भट्टराईले जानकारी दिनुभयो ।
भेटमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य मन्त्रालयका चिकित्सक, लगायत मतहतका निकायका प्रमुखहरुको उपस्थिति थियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button