तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : सहमति र सहकार्यमा जोड


काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा संसदहरुले सहमति र सहकार्यका आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको छ । बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले राष्ट्रिय मुद्दामा सहमतिमा अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको हो ।

राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रिय सभाले विधेयक पारित गर्ने मात्र नभई जनसरोकारका विषयमा पनि उत्तिकै महत्व दिएको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका सांसद अनिता देवकोटाले सहमति र सहकार्यको आधारमा अघि बढ्नुपर्ने बताउदै देशको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि प्रतिपक्ष र सत्तापक्ष एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त राख्नुभयो ।

समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले नवआगन्तुक सांसदहरुलाई स्वागत र सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संविधानलाई समृद्ध बनाउन र राष्ट्रिय सभालाई झन् मर्यादित बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

बैठकमा नवनियुक्त सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रियता लोकतन्त्रको रक्षा र विकासमा कुरामा सबै एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा विकासका लागि प्रचुर सम्भावना र अपूर्व आधार रहेको भन्दै व्यवहारमा नै आर्थिक समृद्धिको कार्यभार पूरा गर्नुको विकल्प नरहेको बताउनुभयो ।

यसैबीच, राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, २०७५/०७६’ पेश गर्नु भएको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सञ्चार तथा सूचना प्रविधिमन्त्रालको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार पदबाट दिनुभएको राजिनामा स्वीकृति गरिएको र उहाँको जिम्मेवारी प्रधानमन्त्री स्वयम्ले नै सम्हाल्ने गरी तोक्नुभएको सम्बन्धीको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष तिमिल्सिनाले वाचन गर्नुभएको थियो ।

अध्यक्ष तिमिल्सिनाले बैठकमा राष्ट्रिय सभाको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक फागुन २९ गते दिउँसो १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button