प्रदेश नंं २ मा छोरीको विमा रकममा दुई सय प्रतिशत बृद्धि, तीन लाख पुर्याइयो

जनकपुरधाम । प्रदेश नंं २ का सरकारले बेटी पढाउँ बेटी पढाउँ कार्यक्रम अन्तर्गत जन्मेका छोरीको एक लाखको विमा रकमलाई बढाएर तीन लाख पुर्याउने निर्णय गरेको छ ।
प्रदेश नंं २ का मन्त्रीपरिषद्को आज भएको बैठकले गरेको निर्णयका बारेमा जानकारी गराउने उद्देश्यले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आजै आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले सो कुराको जानकारी दिनु भएको हो ।
२०७५ साल माघ १ गते यता जन्मेका प्रदेश भरिका सबै छोरीहरुको अब तीन लाखको बिमा हुने भएको छ । यस अघि बिमा गराएका छोरीहरुको बिमा रकम पनि तीन लाख कायम हुने भएको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो ।
यसैगरी आजैको मन्त्रीपरिषद् बैठकले जनकपुरधाममा रहेको पादेशिक अस्पताललाई प्रदेशको पहिलो स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान (आयुर्विज्ञान प्रतिष्ठान) रुपमा परिणत गर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रीपरिषद् बैठकले मधेस शहिद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ । उक्त प्रतिष्ठानले मधेसका शहिदहरुको सम्मानका साथै शालिक निर्माण गर्ने, शहिद परिवारलाई प्रदेशले सेवा सुविधा प्रदान गर्ने तथा घाईतेलाई पनि सहयोग गर्ने मुख्यमन्त्री राउतले बताउनु्भयो ।
पत्रकारहरुले गरेको जिज्ञासामा प्रदेश सरकारले छोरी प्रति भइरहेको भेदभाव तथा हिंसालाई समाप्त पार्नका लागि शुरु गरेको छोरी विमा कार्यक्रम अन्तर्गत हालसम्म प्रदेशको ८ जिल्लामा आठ हजार १८ जनाको विमा गरिसकेको पनि उहाँले जानकारी दिनुभयो ।
छोरी विमाप्रति आकर्षण बढाउन लागि बिभिन्न पालिकाहरुलाई पनि प्रदेश सरकारले गरेको विमा बराबरको रकम थप्नका लागि आग्रह गर्ने बताउदै प्रदेश सरकारले छोरी २० वर्ष हँुदा कम्तीमा २० लाख पाउन् भन्ने पक्षमा आफूहरु रहेको मुख्यमन्त्रीले बताउनुभयो ।
मुख्यमन्त्री राउतले छोरीप्रति सम्मान बढोस् भन्नका लागि प्रदेश सरकारले गर्ने हरेक विज्ञापनमा छोरीलाई ५० प्रतिशत आरक्षण दिने पक्षमा अगाडी बढीसकेको बताउनुभयो ।

उहाँले छोरीलाई शिक्षाप्रति आकर्षित गर्नका लागि १४ हजार सामुदायिक बिद्यालयमा साईकल वितरण गरेको र चालु आर्थिक वर्षमा १० हजारको टेण्डर गरेको र त्यसमा पनि १० हजार थप गरेर २० हजार साईकल वितरण गर्ने पक्षमा रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्र्रदेश नंं २ का प्रमुख सचिव रामकृष्ण सुवेदी, प्रदेश सभाका सदस्य रामअशिष यादवसहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्