तिङ्ला अझै ठप्प, प्रतिकारमा उत्रदा घटना भएको आन्दोलनकारीको भनाइ
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ तिङलामा स्थानीयले शनिबारदेखि गरेको तिङला बन्दको घोषणाका कारण आइतबार पनि तिङला ठप्प भएको छ । शनिवार दिउँसो पत्तालेमा राष्ट्रिय प्रशारण लाइनको विद्युत पोलमा वत्ति मात्र बालेर उद्घाटन गर्ने कार्यक्रम राखेपछि ग्रामिण विद्युतीकरणबाट पहिला घरघरमा विद्युत बालेर मात्र उद्घाटन गर्नुपर्ने माग सहित बन्द गरेका हुन् ।
आइतबार पत्रकार सम्मेलन गरी आन्दोलनकारीले लाम्मानेको सब–स्टेसनमा भेला भएर सडकमा बसिरहेका बेला सदरमुकामबाट उद्घाटनस्थल पत्ताले हिँडेको टोलीका मोटरसाइकलले जबर्जस्ती किच्न लागेपछि आत्मरक्षाका लागि प्रत्याक्रमण गर्दा ठूलो क्षति भएको जनाएका छन् । जनताको घरघरमा विजुली बालेर मात्र उद्घाटन गर्नुपर्ने माग राख्दै तिङ्लालीले आन्दोलनको घोषणा गरेको हुन् । हेपेर जबर्जस्ती अघि बढ्न खोज्दा दुर्घटना निम्तेको विज्ञप्तीमा उल्लेख छ ।
तोडफोड र आगजनीबाट झण्डै डेढ दर्जन सावारी साधनमा क्षति पुगेको छ । प्रहरीले नियन्त्रणमा लिन अश्रु ग्यास र हवाई फायर समेत गरे गरेको थियो । झडपका क्रमममा सुरक्षकर्मी सहित केही व्यक्ति घाइते भएका थिए । सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर ८ स्थित पत्तालेमा राखिएको ट्रन्सफर्मर सञ्चालन गरेर उद्घाटन गर्ने कार्यतालिका रहेको आन्दोलनकै कारण हुन सकेन ।
गाउँमा बत्ती बालेर मात्र उद्घाटन गर्नुपर्ने पटक पटक आग्रह गर्दा समेत विद्युत प्राधिकरणले वेवास्ता गरी जर्बजस्ती उद्घाटन गर्न लाग्दा दुर्घटना भएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभएको छ । आवश्यक बजेट व्यवस्था भइसकेकाले नगरपालिकाको वडा नम्बर ११, १० र ८ लागयतका क्षेत्रमा विद्युत विस्तारको कार्य सकेर मात्रै उद्घाटन गर्नुपर्ने मेयर शेर्पाले बताउँदै आउनुभएको थियो ।
यता सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका जनताले बिहीबारनै हस्ताक्षर सङ्कलन गरेर नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र सल्लेरीमा ज्ञापन पत्रमार्फत ध्यानकर्षण गराउँदा समेत सरोकारवालाले वेवास्ता गरेका कारण ठूलो क्षति भएको बताइएको छ ।
स्थानीयको मागलाई बेवास्ता गरी अगाडी बढेको खण्डमा जस्तोसुकै परिस्थीति सिर्जना हुन सक्ने भन्दै त्यसको जिम्मेवारी प्राधिकरणले लिनुपर्ने चेतावनी दिँदा समेत उद्घाटन गर्ने हतारोले तनाव सिर्जना भएको आन्दोलनकारीका एक अगुवा बालकुमार कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, ‘हामीलाई माननीयले गुण्डा लगाएर तर्साउन खोज्नुभयो, तिङ्लाली तागतलाई कुल्चने काम भयो । ‘हामी ज्यान फाल्न तयार छौँ, माग पुरा नभएसम्म भिडिरहन्छौँ’ ।
आन्दोलनकारीले ठाउँ ठाउमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् भने बाटोमा टायर बालेर बसेका छन् । सडक अवरुद्ध हुदा सोलुखुम्बुबाट राजधानी तथा जिल्ला बाहिरीने कुनै पनि सवारी साधन चल्न सकेका छैन् भने तिङलका सबै शैक्षिक संस्था तथा कार्यालयहरु समेत खुल्न सकेका छैनन् ।
कार्यक्रम विफल भएपछि पत्रकार सम्मेलनमा बोल्दै सघिंय सासंद हेमकुमार राईले विकास विरोधी तत्वहरुले जनतालाई उत्तेजित पार्दा घटना हुन पुगेको आरोप लगाउनुभएको छ । तिङलाबासीको माग प्रति आफुहरु सकारात्मक भएपनि विकासमा राजनीति गर्दा घटना भएको उहाँको दाबी छ ।








प्रतिक्रिया राख्नुहोस्