दैनिक सालको पात बेच्दै दुई बालक

पाल्पा । तानसेन–६ कुनसरेका आकाश परियार र समीर बिक दैनिक जसो बिहान तानसेनका गल्ली गल्लीमा भेटिन्छन् । उमेरले परियार ७ र बिक १३ वर्षका छन् । उनीहरूको साथमा सालको पातसहितको बोरा दिनहुँ हुने गर्दछ ।
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भए देखिनै यी दुई बालकको दैनिकी डेढ घण्टा हिँडेर तानसेनमा सालको पात बेच्दै बित्ने गरेको छ । श्राद्धमा सालको पातबाट बनाइएका दुना टपरी प्रयोग हुने हुँदा सालको पातको व्यापार राम्रै हुने गर्दछ ।
समीर कक्षा ४ र आकाश कक्षा १ मा कुनसरे आधारभूत विद्यालयमा पढ्छन् कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द हुँदा उनीहरूलाई पात बेच्न फुर्सद मिलेको छ ।
दैनिक २० मुठा पात बेचेर छ सय रुपैयाँ कमाई हुने र उक्त पैसाले कापी कलम किन्ने गरेको समीर बताउँछन् । आमाले छोडेर अन्तै गएपछि बुवासँग बस्दै आएका आकाश आर्थिक अवस्था कमजोर भएका कारण दैनिक जसो पात टिपेरै खर्च चलाउँछन् ।
आमाको काखमा रमाउँदै पढ्ने र खेल्ने उमेरमा यी दुई बालक रोजीरोटीकै लागि बिहानै बजे पातको भारीसहित तानसेन निस्किने गर्दछन् ।
बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्था र सरकारको नजरमा यी दुई बालक अझै पर्न सकेका छैनन् ।








प्रतिक्रिया राख्नुहोस्