मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि…
डोटी-कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो । यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरमा मदिरा खपत बढेको स्थानीयवासी बताउँछन् ।
कोरोनाबाट जोगिन भन्दै मदिरा नपिउनेहरुले पनि हिजोआज मदिरा पिउन थालेको केआइसिंह गाउँपालिका–६ सेलेनाका स्थानीयवासी रमेशबहादुर बलायरले बताउनुभयो ।
मदिरा नियन्त्रणका लागि यहाँको स्थानीय प्रहरी प्रशासनले थुप्रै प्रयास गरेपनि सफल हुन सकेको छैन । मदिराकै कारण जिल्लामा यो आर्थिक वर्षमा मात्रै एक दजर्न बढी घटना भएको प्रहरीको तथ्याङ्कमा छ । यहाँको स्थानीय प्रहरी प्रशासनले गाउँमा मदिराको बिक्रीवितरण तथा ओसारपसारलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेपनि त्यो कागजमा मात्रै सिमित भएको छ भने गाउँमा झनै समस्या उत्पन्न हुन थालेको छ ।
गाउँघरमा हुने अधिकांश घटनाको प्रमुख कारण मदिरा भएपनि यहाँका गाउँमा बिक्रीवितरण हुने मदिरा रोक्न खासै कसैले पहल नगरेको स्थानीयको आरोप छ । मदिरा नियन्त्रणका लागि गाउँगाउँमा आमा समूह गठन भएपनि लुकी छिपी तथा कोरोनाबाट बच्न भन्दै मदिरा पिउनेहरु बढेका कारण रोक्न र नियन्त्रण गर्न नसकिएको ती समूहमा आबद्ध महिला बताउँछन् ।
जिल्ला सदरमुकामलगायत यहाँका ग्रामीण क्षेत्रमा बिना इजाजत खुलेआम रुपमा नियम बिपरित मदिरा बिक्रीवितरण भई रहेको दिपायलका स्थानीयवासी उत्तम द्धारीयाले बताउनुभयो । यहाँका ग्रामीण क्षेत्रमा राजनैतिक दलका नेताको आडमा खुलेआम रुपमा मदिरा ओसारपसार हुने तथा बिक्रीवितरण हुने गरेको स्थानीयवासीको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार यो आर्थिक वर्षमा मदिरा सेवनसँग सम्बन्धित एक दर्जन बढी उजुरी परेका छन् । डोटीमा स्थानीय प्रशासनले मदिरा बिक्री गर्न इजाजत प्राप्त व्यापारीलाई बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र मदिरा बिक्रीवितरण गर्न पाइने नियम लागु गरेपनि यहाँ अन्य समयमा समेत मदिरा कारोबार भइरहेको पाईएको छ । जिल्ला सदरमुकाममा मदिरा व्यवस्थित हुन नसकेपछि जिल्लाको ग्रामीण भेगमा खुलेआम अवैध मदिरा कारोबार हुने गरेको छ ।
बजारका गोदामबाट दैनिक जसो मदिरा गाउँघरमा बिक्रिवितरणका लागि जाने गरेपनि यहाँको प्रहरी प्रशासनले रोक्नेभन्दा पनि व्यापारीसँगको मिलेमतोमा गाउँ जान दिने गरेको स्थानीयको आरोप छ । उता जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख तथा डिएसपी इन्द्रबहादुर मल्लले गाउँमा मदिरा कारोवार तथा बेचबिखन बन्देज गरेको दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्