रुपन्देहीमा राष्ट्रिय परिचय पत्रका लागि तथ्याङ्क सङ्कलन सुरु

रुपन्देही । रुपन्देहीमा राष्ट्रिय परिचय पत्रका लागि तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीको तथ्याङ्क लिएर आजबाट सेवा सुरु भएको हो ।
तत्काल जिल्ला प्रशासन कार्यालयबाट तथ्याङ्क सङ्कलनको काम सुरु भएको छ । नेपालमा बस्ने सबै नागरिकको वैयक्तिक विवरण राष्ट्रिय तथ्याङ्क भण्डारमा समाविष्ट गर्ने र जनतालाई प्रवाह गर्ने सेवा सुविधालाई एकीकृत प्रणालीबाट परिचय पत्रमार्फत प्रणाली विकास गर्न परिचय पत्र तथ्याङ्क लिने कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।
नेपाल सरकारले २०७५ मङ्सिरबाट सिंहदरबार र पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरणको सुरुवात भए पनि सरकारको नीतिअनुरूप यो वर्षदेखि सबै जिल्लामा सुरुवात गर्न लागिएको उहाँले बताउनुभयो ।
दुई वटा सङ्कलन स्टेसनबाट अहिले सेवा सुरु भए पनि प्रभावकारिताको आधारमा केन्द्रले ठाउँ ठाउँमा सङ्कलन केन्द्र स्थापना गर्नेछ । तथ्याङ्क भरेको केही दिनपछि परिचय पत्र डिजिटल प्रिन्ट भएर आउने व्यवस्था मिलाइएको छ ।
यो वर्ष सरकारले एक करोड नागरिकको डाटा सङ्कलन गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जारी गर्ने यो परिचय पत्रमा नागरिकताको विवरणसहित अन्य उपयोगी विवरणहरू परिचय पत्रमा समावेश हुन्छन् ।
यो परिचय पत्र दीर्घकालका सबै नागरिकका लागि बनाउन लागिए पनि हाललाई नागरिकता पाएका नागरिकको तथ्याङ्क लिई जारी गर्ने व्यवस्था रहेको कार्यालयले जानकारी दिएको छ ।
व्यक्तिको राष्ट्रिय परिचय पत्र, मतदाता परिचय पत्र, जग्गा जमिन र अन्य सम्पत्तिको अभिलेखका रूपमा, बैङ्किङ कारोबारको अभिलेख, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा यो परिचय पत्रको उपयोग गर्न सकिन्छ ।








प्रतिक्रिया राख्नुहोस्