गत आर्थिक वर्षमा १२ खर्ब ९२ अर्बको वैदेशिक व्यापार
काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालले कुल १२ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको बैदेशिक व्यापार गरेको छ ।
अघिल्लो आर्थिक वर्ष १५ खर्ब १५ अर्ब रुपैयाँको बैदेशिक ब्यापार गरेकोमा गत वर्ष व्यापार १४.६९ प्रतिशतले घटेको छ । गत वर्ष आयात र निर्यात दुबै घट्दा बैदेशिक व्यापार घटेको हो ।
गत आर्थिक वर्षमा आयातमा केही कमी आएको छ । गत आर्थिक वर्षको सुरुदेखि नै घटेकोे आयात कोरोना भाइरससँगै भएको लकडाउनले झनै घटाइदिएको छ । गत आर्थिक वर्षमा कुल आयात १५.६३ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँमा झरेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कुल १४ खर्ब १८ अर्बको वस्तु तथा सेवा आयात भएको थियो ।
त्यसैगरी निर्यात पनि थोरै घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५।७६ मा कुल ९७ अर्ब १० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएकोमा गत वर्ष ९६ अर्ब १५ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ०.९८ प्रतिशतले कम हो ।
लकडाउन अघिसम्म निर्यात केही बढ्दै आएको भए पनि लकडाउन पश्चात निर्यात बढ्न सकेको छैन । नेपालले सबैभन्दा धेरै निर्यात गर्ने पाम आयलको निर्यात पनि अहिले ठप्प छ । जसले गर्दा निर्यातमा कमी आएको हो ।
गत आर्थिक वर्षमा नेपालले ११ खर्ब रुपैयाँ बराबरको बैदेशिक ब्यापार घाटा बेहोरेको छ । आर्थिक वर्ष २०७५।७६ मा १३ अर्ब २१ अर्ब रुपैयाँको वैदेशिक व्यापार घाटा बेहोरेकोमा गत वर्ष व्यापार घाटा १६.७१ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षमा कुल आयातमा कमी आउदा बैदेशिक व्यापार घटेको हो ।
आर्थिक वर्षको अन्त्यसम्ममा कुल बैदेशिक व्यापारमा ९२.५६ प्रतिशत आयातको हिस्सा छ ।







प्रतिक्रिया राख्नुहोस्