तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा जलन र न्युरोसम्बन्धी विशिष्टीकृत सेवा सुरु

नेपालगञ्ज । भेरी अस्पताल नेपालगन्जमा प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ र न्युरो सर्जरी सेवाको औपचारिक रुपमा उद्घाटन गरिएको छ । विशिष्टीकृत सेवा विस्तार गर्ने क्रममा आजदेखि थप दुई वटा सेवा सुरु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले जानकारी दिनुभयो ।

प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी सेवा डा. नोबेल पोखरेल र न्युरो सर्जरी सेवा डा. आलोकचन्द्र ठाकुरले दिनुहुनेछ । अब जलन र न्युरोका बिरामीले सरकारी भेरी अस्पतालबाटै विशिष्टीकृत सेवा पाउनेछन् । सेवा शुभारम्भ कार्यक्रममा अस्पताल विकास समितिका पदाधिकारी, अस्पतालका विभागीय प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो । 

भेरी अस्पतालले गत कार्तिक १७ गतेदेखि फोक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार (क्रिटिकल केयर) र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा पनि थप गरी सुरु गरेको थियो । भेरी अस्पतालले पछिल्लो समय विशेषज्ञ स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिँदै आएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. दर्नालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button