अयोध्याधामबाट आएका तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागत
जनकपुरधाम। प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको अयोध्याधाम–जनकपुरधाम रेल सेवाका तीर्थयात्री आज जनकपुरधाम आइपुगेका छन्।

भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले सोमबार हरियो झण्डा देखाएर उद्घाटन गर्नुभएको सरयू–कमला एक्सप्रेस रेलका यात्रुलाई जनकपुरधाममा भव्य स्वागत गरिएको हो।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतबाट आएका तीर्थयात्रीलाई फूलमाला लगाएर स्वागत गर्नुभयो। बटुकहरूले स्वस्तिवाचन गरी धार्मिक यात्रामा आएका यात्रुको स्वागत गरेका थिए। स्थानीयवासीले नेपाली झण्डासहित उनीहरूको स्वागत गरेका थिए।

स्वागतपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले अयोध्याधाम–जनकपुरधाम रेल सेवा सञ्चालनले दुवै देशबीच धार्मिक, सांस्कृतिक तथा आर्थिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
भारतको श्रीराम जन्मभूमि अयोध्याधामस्थित क्यान्टबाट आएका तीर्थयात्रीलाई जनकपुरधाम उपमहानगरपालिका, स्थानीय प्रशासन, जनकपुरधाम उद्योग वाणिज्य सङ्घलगायत निकायले स्वागत गरेका थिए। भारतको उत्तर प्रदेशस्थित अयोध्याको सरयू नदी र धनुषा तथा सिरहा जोड्ने कमला नदीको नामबाट सञ्चालन गरिएको रेलमा एक हजारभन्दा बढी तीर्थयात्री सवार थिए।

हप्तामा एक दिन सञ्चालन हुने यस रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रेलमार्गबाट जोडिएपछि दुवै देशका नागरिकलाई आवतजावत गर्न सहज हुनुका साथै भारतीय पर्यटकलाई नेपाल भ्रमण गर्न थप सुविधा पुग्ने विश्वास गरिएको छ।
त्रेतायुगमा अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी माता सीताबीच विवाह भएको धार्मिक मान्यतासँग जोडिएको जनकपुरधाममा रेल सेवा सञ्चालन भएपछि यहाँको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने स्थानीयवासीको विश्वास छ।

भारतीय रेल विभागले सार्वजनिक गरेको समयतालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट प्रस्थान गर्ने रेल आइतबार बिहान ८ बजेर १० मिनेटमा अयोध्याधामको क्यान्ट स्टेसन पुग्नेछ। त्यसैगरी, सोमबार साँझ ५ बजेर ५० मिनेटमा अयोध्याधामको क्यान्टबाट प्रस्थान गर्ने रेल मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा जनकपुरधाम आइपुग्नेछ।







प्रतिक्रिया राख्नुहोस्