तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख अर्यालसँग कतारका राजदूत अन्सारीको भेट

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीले शिष्टाचार भेट गर्नुभएको छ ।

सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीचको सम्बन्ध र आपसीहित विषयमा विचार विमर्श भएको थियो । सो अवसरमा सभामुखले भोटेकोशी बाढीपछि कतार सरकारले प्रदान गरेको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद ज्ञापन गर्दै नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनामा थप सहयोगको अपेक्षा गर्नुभयो । 

त्यस अवसरमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्य थप सुदृढ भइरहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देशबीच रहँदै आएको सहकार्यलाई निरन्तरता दिनुपर्ने र विश्व शान्ति तथा स्थायित्वका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सभामुख अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्यमा जोड दिनुभएको थियो । उहाँले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्र्याउन आग्रह गर्नुभयो ।

नेपालको कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सम्भावनाबारे चर्चा गर्दै सभामुख अर्यालले नेपालबाट उत्पादित फलफूल, तरकारी, अन्नलगायतका कृषि उपज कतारमा निर्यात गर्ने वातावरण निर्माणका लागि आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो । त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न तथा हवाई सम्पर्क विस्तारमार्फत पर्यटन र व्यापार प्रवर्द्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सभामुख अर्यालले खेलकुदको विकास र प्रवर्द्धनका लागि पनि दुई देशबीच सहकार्य विस्तार गर्न आग्रह गर्नुभयो । भेटमा राजदूत अन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताउनुभएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button