बुद्धको अहिंसाको सन्देश विश्वभर फैलाउन पाँच देशका बौद्ध अध्येताको आग्रह
रुपन्देही । बुद्ध र अहिंसासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बुटवलमा सुरु भएको छ । बौद्ध शिक्षा अध्ययन–अध्यापन हुने नेपालसहित पाँच देशका २९ क्याम्पसका प्राध्यापक तथा विद्यार्थीको सहभागितामा सम्मेलन सुरु भएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवल र भारतको उत्तर प्रदेशस्थित मथुरा प्रसाद महाविद्यालय (कोंच) को संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा नेपाल, भारत, थाइल्याण्ड, श्रीलङ्का र म्यानमारका प्राध्यापक तथा विद्यार्थी सहभागी छन् ।
‘बुद्ध र अहिंसा ः विश्वशान्ति, करुणा र सामाजिक रूपान्तरणका ऐतिहासिक तथा समसामयिक आयाम’ विषयक सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले बुद्धको अहिंसा र शान्तिको सन्देश विश्वभर फैलाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विश्व अहिले हिंसा र द्वन्द्वको चपेटामा परेको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा समेत परिरहेको बताउनुभयो । विश्वमा शान्ति स्थापनाका लागि बौद्ध दर्शनको महत्वबारे सबै देशका नागरिकलाई जानकारी गराउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
मन्त्री घिमिरेले शान्ति र अहिंसाको मार्गबाट मात्रै विश्व आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्न सक्ने बताउँदै बुद्धको सन्देशलाई विश्वव्यापी बनाउन ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले सम्मेलनले बुद्धका शिक्षालाई विश्वभर विस्तार गर्न तथा आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनमा सहभागी विभिन्न देशका प्राध्यापक तथा विद्यार्थीलाई बुद्धका शिक्षाको प्रचारप्रसार र अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
विश्वविद्यालयका सहप्राध्यापक एवं पूर्व रजिस्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयले बौद्ध शिक्षामार्फत नेपाल र विश्वभर शान्तिको सन्देश प्रवाह गर्दै आएको बताउनुभयो । विगत एक दशकदेखि सञ्चालन गरिएका अभियानले सकारात्मक परिणाम दिन थाले पनि बौद्ध दर्शनको अध्ययन, अनुसन्धान र प्रचारप्रसारमा अझै धेरै काम गर्न बाँकी रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा सिटी क्याम्पसका कानुन विभाग प्रमुख बद्रीप्रसाद गौतम, भारतको मथुरा प्रसाद महाविद्यालय, जालौनका प्राचार्य सुरेन्द्र सिंह र सिटी क्याम्पसका सहायक क्याम्पस प्रमुख जेबी क्षेत्रीलगायतले अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
सम्मेलनमा विभिन्न विषयमा ५० वटा कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ । कार्यपत्रहरू बौद्ध धर्म, शिक्षा र नैतिक नेतृत्व, अहिंसाको दर्शन र नैतिकता, बौद्ध न्यायशास्त्र र नैतिक शासन, बौद्ध सम्पदामार्फत सांस्कृतिक कूटनीति तथा कोमल शक्ति र समसामयिक विश्व द्वन्द्व रूपान्तरण गरी पाँच विषयमा केन्द्रित छन् । सम्मेलनका विभिन्न सत्रमा नेपालसहित भारतका गोरखपुर, लखनउ, मेघालय, अयोध्या, झाँसी, महराजगञ्ज र मुजफ्फरपुर लगायतका शैक्षिक संस्थाका प्राध्यापक तथा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । कार्यपत्र नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रस्तुत गरिनेछ ।
सम्मेलनका विभिन्न सत्रको अध्यक्षता डा. शारदा पौडेल, थाइल्याण्डको बैंककस्थित शिनावात्रा विश्वविद्यालयका डा. कलिंग सेनेविरत्ने र प्राध्यापक जयशंकर तिवारीले गर्नुभएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलन बुधबार सम्पन्न हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्