तपाईँ सुन्दै हुनुहुन्छः

पार्किङ व्यवस्थापन नहुँदा डडेल्धुराको बागबजार अस्तव्यस्त, दुर्घटनाको जोखिम बढ्दै

डडेल्धुरा । डडेल्धुराको मुख्य बजार बागबजार क्षेत्रमा पार्किङ व्यवस्थापन नहुँदा बजार अस्तव्यस्त बनेको छ।

सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने राजमार्गमा पर्ने बागबजार क्षेत्रमा दैनिक सयौँ सवारीसाधन आवतजावत गर्ने गरे पनि व्यवस्थित पार्किङको व्यवस्था नहुँदा दुर्घटनाको जोखिम बढेको छ।

स्थानीय उद्योगी व्यवसायीले पार्किङ अभावका कारण व्यापार व्यवसाय प्रभावित हुनुका साथै बजारमा किनमेल गर्न आउने सर्वसाधारणलाई समेत समस्या भएको बताएका छन्।

उद्योगी व्यवसायी धर्मदेव पाण्डेयले पार्किङ व्यवस्थापनमा स्थानीय सरकार र प्रहरी प्रशासनले चासो नदिँदा जोखिम बढेको बताउनुभयो।

त्यस्तै, व्यवसायी दीपक सिंहले सडक फराकिलो बनाउने भन्दै दुई वर्षअघि करोडौँ रुपैयाँ मुआब्जा वितरण गरिए पनि काम पूरा नहुँदा बजारवासीले सास्ती भोग्नुपरेको बताउनुभयो।

सडक विस्तारको काम अधुरै रहँदा वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या समेत कायम रहेको स्थानीयको गुनासो छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button