तपाईँ सुन्दै हुनुहुन्छः

तिहारसँगै सुदूर पहाडका वनपाखामा खर काट्ने चटारो

बैतडी । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको रौनकसँगै बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा खर काट्ने चटारो बढेको छ । 

हिउँदमा गाईवस्तुहरुलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलन अनुसार खर काट्ने चटारो बढेको सुर्नया गाउँपालिका–६ की स्थानीय कमला अवस्थीले बताउनुभयो । असोजदेखि नै खर काट्ने क्रम शुरु भएको भएपनि, अहिलेसम्म गाउँघरका महिलाहरू खर काट्ने काममा व्यस्त रहेका छन् ।

पहाडी जिल्लाका प्रत्येक ठाउँमा खर काट्ने चटारो बढेको डडेल्धुराको भागेश्वर गाउँपालिकाकी कमला बोहराले बताउनुभयो । बिहानदेखि बेलुकासम्म खर काट्ने काममा आफूहरू व्यस्त रहेको बोहराले बताउनुभयो । खरसँगै हिजोआज गाउँघरमा खेतबारीको कामको समेत व्यस्तता रहेको छ । खेतीपातीसँगै खर काट्ने चटारो बढेको छ ।

हिउँदको समयमा घरपालुवा बस्तुभाउहरुलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलन रही आएको दार्चुलाका स्थानीय इन्द्रसिंह रावलले बताउनुभयो । अहिले जिल्लाभरि खर काट्ने चटारो बढेको उनले बताएका छन् । गाउँघरमा महिलाहरू अहिले घर काट्ने काममा व्यस्त रहेका रावलको भनाइ रहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका महिलाहरूले हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि असोज कार्तिकमा खर काटेर थुप्रो बनाउने गरेका छन् । कुन्यूमा थुप्रो बनाएको खरलाई हिउँदको समयमा गाईबस्तुलाई खुवाउने गरिन्छ । 

भीर भएका खरफागलाहरुमा खर काट्न निकै जोखिम हुने गरेको छ । खर काट्ने क्रममा लडेर बर्सेनि धेरैले अकालमै ज्यान समेत गुमाउने गरेका छन् । खर काट्नका लागि भिर पाखामा जानुपर्ने भएकाले जोखिम रहेको बैतडीको श्रीभावरका स्थानीय  मानमती साउँदले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button