तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री शाहीद्वारा सय दिनका उपलब्धि सार्वजनिक, पाँच विधेयक ल्याउने तयारी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गर्नुभएको छ । 

आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारका एक सय दिन पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले आफ्नो एक सय दिनको अवधिमा विकास र सुशासनका क्षेत्रमा महत्वपूर्ण आधार तयार पारिएको बताउनुभयो । 

२०८३ साउन १३ गते मुख्यमन्त्रीको शपथ लिनुभएका शाहीले पदभार ग्रहण गरेको एक सय दिनमा कानुन निर्माण, शासकीय सुधारसहितको सुशासनका कामहरू अघि बढेको दाबी गर्नुभयो ।  

उहाँले प्रदेशमा पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रमा विभिन्न काम अघि बढाएको बताउनुभयो । सरकारले गरेको उपलब्धि सार्वजनिक गर्दै सरकारको सय दिनमा पाँच वटा विधेयक प्रदेशसभामा पेस गर्न मन्त्रिपरिषद्बाट स्वीकृति प्रदान गरिएको  बताउनुभयो । 

त्यस्तै यातायात सेवा व्यवस्थित गर्न दुई वटा नियमावली तथा शिक्षा क्षेत्र योजना (२०८३–२०९२) स्वीकृत गरिएको छ । विभिन्न विषयका छ वटा कार्यविधि र दुई वटा निर्देशिका समेत स्वीकृत भएको उहाँले जानकारी दिनुभयो । 

शासकीय सुधारअन्तर्गत एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणाली लागू गरिएको जानकारी दिँदै उहाँले मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव तथा कार्यालय प्रमुखबीच कार्यसम्पादन सम्झौता गरिएको बताउनुभयो । 

यातायात व्यवस्था कार्यालय सुर्खेतबाट एकद्वार सेवा प्रवाहसमेत सुरु गर्नुका साथै दुई वटा सडक पुल र १७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । जाजरकोट भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत तीनवटा विद्यालय भवन निर्माण गरिएको छ । 

प्रदेशको एकीकृत प्रशासनिक भवन निर्माण कार्यसमेत सुरु भएको छ । विपद् व्यवस्थापनअन्तर्गत रसुवाको बाढी प्रभावित क्षेत्रका लागि दुई करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराइएको छ । 

कर्णालीका १० वटै जिल्लाका विपद् व्यवस्थापन कोषमा समेत राहत तथा उद्धारका लागि रकम पठाइएको छ । शिक्षा, स्वास्थ्य तथा खेलकुदतर्फ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका १ सय ४६ खेलाडीलाई पुरस्कार प्रदान गरिएको समेत उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button