तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सिकाइ र मनोसामाजिक परामर्श उपलब्ध गराउन सांसदहरूको जोड

काठमाडौँ । सांसदहरूले गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । 

राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको आज बसेको बैठकमा सांसदहरुले विपद्का प्रभावित क्षेत्रका विद्यालयमा अनलाइन कक्षा सञ्चालन तथा वैकल्पिक सिकाइ प्रणालीको व्यवस्था गरी शिक्षाको निरन्तरता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।  

सांसदहरुले बाढी प्रभावित क्षेत्रका बालबालिकाका लागि मनोसामाजिक परामर्श सुविधा प्रदान गर्नुका साथै अभिभावकविहीन बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसदहरुले भूगर्भविद्को प्राविधिक अध्ययन तथा जोखिम मूल्याङ्कनका आधारमा सुरक्षित स्थानमा विद्यालय पुनर्निर्माण वा स्थानान्तरण गर्नुका साथै क्षतिग्रस्त विद्यालयको मर्मत गर्न पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा विशेष समितिका सभापति कृष्णबहादुर पौडेलले प्रभावित क्षेत्रमा बालबालिका तथा मानव बेचबिखनको जोखिम रोक्न आवश्यक सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा विद्यार्थी भर्ना र  शैक्षिक सामग्रीको उपलब्धता सुनिश्चित गर्दै पठनपाठन पुनःसञ्चालन भइसकेको जानकारी गराउनुभएको थियो । 

यस्तै विद्यार्थीहरूको शिक्षामा निरन्तरता कायम राख्न नजिकैका विद्यालयमा अध्ययनको व्यवस्था गर्ने तथा अभिभावकविहीन बालबालिका लागि प्रभावित क्षेत्रमै आवासीय सुविधाको विस्तार गर्ने योजना रहेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button