तपाईँ सुन्दै हुनुहुन्छः

बाँके जिल्ला स्तरीय फुटबलमा भद्रकाली र एन.के. स्पोर्ट्स विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन न्यू भद्रकाली स्पोर्ट्स क्लब र एन।के। स्पोर्टस क्लब विजयी भएका छन् ।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा खजुरास्थित मिनी रंगशाला, डी गाउँमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबार भएका दुई खेलबाट भद्रकाली र एन.के. स्पोर्ट्सले जित निकालेका हुन् । जिल्लाका खेलाडीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा १५ टिम सहभागी छन् ।

पहिलो खेलमा न्यू भद्रकाली स्पोर्ट्स क्लबले न्यू बागमती स्पोर्ट्स क्लबलाई पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा न्यू भद्रकालीका जर्सी नम्बर ७ का खेलाडी निशान्त राना मगरले खेलको अन्तिम समयमा गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए ।

सोमबार भएको दोस्रो खेलमा एन.के. स्पोर्ट्स क्लब र भगवती स्पोर्ट्स क्लबबीचको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय ट्राई ब्रेकरबाट लिइएको थियो । ट्राई ब्रेकरमा एन.के. स्पोर्ट्स क्लबले चार गोल गर्दा भगवती स्पोर्ट्स क्लबले दुई गोल मात्र गर्न सक्यो । त्यससँगै एन.के. स्पोर्ट्सले जित सुनिश्चित गरेको आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत मङ्गलवार पनि दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा जय किसान स्पोर्ट्स क्लब र नवज्योति युवा क्लबबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । त्यसैगरी, दोस्रो खेलमा न्यू डाँफे स्पोर्ट्स क्लब (बी) र एन.के. स्पोर्ट्स क्लब आमनेसामने हुने अध्यक्ष खत्रीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीलाई ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालगन्ज न्यूरो हस्पिटलले मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ । यस्तै, खजुरा गाउँपालिका–४, डी गाउँका संरक्षक तथा हाल अमेरिकामा रहेका समाजसेवी लीलबहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि सौजन्य गरेका छन् ।

दसैँ र तिहारको अवसर पारेर आइतबारदेखि सुरु भएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने न्यू डाँफे स्पोर्ट्स क्लबका उपाध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिताले जिल्लाभित्रका फुटबल खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीयस्तरमा फुटबल खेलको विकासमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

क्लबका सचिव तेजेन्द्र योगीका अनुसार प्रतियोगितामा बाँकेका १५ टिमले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button