तपाईँ सुन्दै हुनुहुन्छः

चुमनुब्री गाउँपालिका क्षेत्रमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीपछि स्वास्थ्य क्षेत्रको प्रतिकार्यका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत निरन्तर समन्वय तथा निगरानी गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई सक्रिय गराइएको जनाएको हो ।

मन्त्रालयका अनुसार स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले प्रदेश तथा स्थानीय तहका निकायहरूसँग समन्वय गर्दै घटनाको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ ।

त्यसैगरी, गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन तथा सूचना केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय गोरखा, हब तथा स्याटेलाइट अस्पताल र स्थानीय तहका स्वास्थ्य संयोजकहरूलाई निरन्तर सम्पर्क र समन्वयमा रहन भनिएको छ ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन, आकस्मिक उपचार तथा अन्य स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको सूचनामार्फत भनिएको छ ।

प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा वा आकस्मिक उपचारसम्बन्धी सहायता चाहिएमा निःशुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button