जनकपुरधामका प्रसिद्ध शक्ति पीठहरूमा भक्तजनको घुइँचो

जनकपुरधाम । विजया दशमीको अवसरमा जनकपुरधामका प्रसिद्ध शक्ति पीठहरूमा भक्तजनको घुइँचो लागेको छ।
राजदेवी मन्दिर, पल्टिमाई, गहवरमाई, पियरीयामाई र अमरखानालगायतका धार्मिक स्थलमा बिहानैदेखि श्रद्धालुको भीड बढेको हो। साँझको समयमा भक्तजनको चाप अझ बढी देखिएको छ।

चाडपर्वलाई लक्षित गरी राजदेवी मन्दिर र गहवरमाई स्थानलगायतका धार्मिक स्थललाई आकर्षक रूपमा सजाइएको छ। महावीर युवा कमिटी र श्रीराम युवा कमिटीलगायतका संस्थाले मन्दिर क्षेत्रको सजावट गरेका छन्।
भक्तजनको चापलाई ध्यानमा राख्दै जनकपुरधाममा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले नगर क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि नियमित जनशक्तिसँगै थप ट्राफिक प्रहरी परिचालन गरेको जनाएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जिल्लाभर शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
यसैबीच, जनकपुरधामको विद्यापति चोकस्थित प्राचीन दुर्गा मन्दिर र रामानन्द चोकमा पनि विशेष पूजापाठ तथा धार्मिक कार्यक्रम आयोजना गरिएको छ। यस वर्ष जनकपुरधाममा लाग्ने दशैँ बजार दशमीसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ।









प्रतिक्रिया राख्नुहोस्