तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढीको विनाश: बागमती प्रदेश सरकारद्वारा एकीकृत प्रारम्भिक प्रतिवेदन सार्वजनिक

'१ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ बेपत्ता'

मकवानपुर। भदौ १० गते भोटेकोसी नदी प्रणालीमा आएको बाढीपहिरोले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छ। बागमती प्रदेश सरकारद्वारा तयार पारिएको ‘एकीकृत प्रारम्भिक प्रतिवेदनले बाढीपहिरोबाट जनधन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा आर्थिक क्षेत्रमा गम्भीर क्षति पुगेको देखाएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो। १५ वटा विषयगत क्षेत्रको विवरण समेटेर तयार पारिएको प्रतिवेदनमा बाढीपहिरोले रसुवा, नुवाकोट र धादिङमा व्यापक विनाश गरेको तथा चितवनका तटीय क्षेत्रमा समेत प्रभाव पारेको उल्लेख छ।

 मानवीय क्षतिसँगै हजारौँ परिवार विस्थापित
प्रतिवेदनअनुसार बाढीपहिरोमा परी १ हजार ४५५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५ हजार २८५ जना अझै बेपत्ता छन्। विभिन्न अस्पतालमा ३४४ जनाले उपचार सेवा लिएका छन् भने १९ वटा अस्पतालबाट २९७ जना डिस्चार्ज भएका छन्। विपद्का क्रममा १३ हजार ७९५ जनाको सकुशल उद्धार गरिएको र उद्धार कार्यमा २० हजार ४७७ जना सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको प्रतिवेदनमा उल्लेख छ।

बाढीले बस्ती तथा घरहरू बगाउँदा २ हजार ३०० वटा निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २६९ घरमा आंशिक क्षति पुगेको छ। कुल २ हजार ३०० परिवार प्रत्यक्ष रूपमा विस्थापित भएका छन्। हाल विभिन्न अस्थायी शिविरमा १ हजार ८५ जना आश्रय लिएर बसिरहेको सचिव भट्टराईले जानकारी दिए।

बालबालिका र ज्येष्ठ नागरिक थप जोखिममा
विपद्ले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई गम्भीर असर पारेको प्रतिवेदनले औँल्याएको छ। बाढीपहिरोका कारण १०२ जना बालबालिकाले बाबुआमा दुवै गुमाएका छन्। यस्तै, अस्थायी होल्डिङ सेन्टरहरूमा २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक आश्रित छन्।

प्रतिवेदनले ३८ वटा होल्डिङ सेन्टरमा तत्काल मनोसामाजिक परामर्श सेवा आवश्यक रहेको जनाएको छ। विस्थापित परिवारका लागि सुरक्षित आवासको व्यवस्था गर्नुका साथै प्रभावितको पारिवारिक अवस्था र आवश्यकताका आधारमा राहत तथा पुनर्स्थापनाको काम अघि बढाउनुपर्ने चुनौती देखिएको छ।

 सडक, पुल र विद्यालयमा व्यापक क्षति
बाढीपहिरोले यातायात तथा सञ्चार सम्पर्कमा समेत गम्भीर असर पारेको छ। प्रतिवेदनअनुसार ३४ वटा मोटरेबल पुल पूर्ण रूपमा बगेका वा भत्किएका छन् भने एउटा पुलमा आंशिक क्षति पुगेको छ। यस्तै, ५१ वटा झोलुङ्गे पुल र ३।५ किलोमिटर कालोपत्रे सडक बगाएको छ। यसले उद्धार, राहत सामग्री ढुवानी तथा प्रभावित क्षेत्रको आवागमनमा अवरोध सिर्जना गरेको छ।

तत्कालका लागि आवागमन सहज बनाउन नुवाकोटमा पाँचवटा तुइन र दुईवटा जिपलाइन सञ्चालन गरिएको छ भने रसुवामा पनि तुइनमार्फत वैकल्पिक पहुँच कायम गरिएको सचिव भट्टराईले बताए।

शिक्षा क्षेत्रमा १२ वटा विद्यालय पूर्ण रूपमा र १८ वटा विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ३५ वटा विद्यालय भवन र ३१७ वटा कक्षाकोठा पूर्ण रूपमा नष्ट हुँदा ९ हजार २४८ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। शिक्षा तथा स्वास्थ्य क्षेत्रबाहेक अन्य १४ वटा सरकारी कार्यालयका भवनमा समेत क्षति पुगेको छ।

स्वास्थ्य पूर्वाधारतर्फ ६ वटा सरकारी स्वास्थ्य केन्द्र, सातवटा निजी स्वास्थ्य संस्था वा औषधि पसल र दुईवटा स्वास्थ्य शाखा तथा स्टोर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अन्य चारवटा स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

खानेपानी र सिँचाइमा करोडौँको क्षति
बाढीले ५५ वटा खानेपानी आयोजना तथा इन्टेकमा क्षति पुर्‍याउँदा ९६५ घरधुरी खानेपानी सेवाबाट वञ्चित भएका छन्। खानेपानी क्षेत्रमा मात्रै ३० करोड ४० लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ।

त्यसैगरी, ४४ वटा सिँचाइ कुलो क्षतिग्रस्त हुँदा ५९० हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको छ। सिँचाइ क्षेत्रमा २२ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

सञ्चार क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ। कुल १९८ वटा मोबाइल टावरमा क्षति पुगेकोमा १९३ वटा पुनः सञ्चालनमा ल्याइसकिएको छ। सञ्चार पूर्वाधारमा ४० देखि ४२ करोड रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको छ।

कृषि तथा पशुपालनमा ठूलो नोक्सानी
बाढीपहिरोले ९७३ हेक्टर कृषि भूमि प्रभावित बनाएको छ भने ४७१ हेक्टरमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको छ। पशुपन्छीतर्फ ७०२ वटा गाईभैँसीलगायतका पशु, २ हजार १२३ वटा बाख्रा तथा भेडा र १ लाख ३४ हजार कुखुरा तथा अन्य पन्छी मरेका छन्। यस्तै, १६२ वटा गोठ, खोर तथा व्यावसायिक फार्ममा क्षति पुगेको छ।

यसले प्रभावित किसानको उत्पादन, आम्दानी र जीविकोपार्जनमा दीर्घकालीन असर पार्ने देखिएको छ। कृषि उत्पादन पुनःस्थापना, पशुपालन व्यवसायको पुनर्निर्माण तथा किसानलाई राहत उपलब्ध गराउनु चुनौतीपूर्ण हुने प्रतिवेदनले संकेत गरेको छ।

 उद्योग, व्यापार र रोजगारीमा गम्भीर असर
बाढीपहिरोले स्थानीय अर्थतन्त्रमा समेत ठूलो धक्का पुर्‍याएको छ। प्रतिवेदनअनुसार ३०० वटा घरेलु तथा साना उद्योग पूर्ण रूपमा क्षतिग्रस्त हुँदा २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ बराबरको क्षति भएको छ। ६७ वटा व्यापारिक पसल तथा प्रतिष्ठान नष्ट हुँदा २५ करोड ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ। यस्तै, ३० वटा गोदाम बगेका छन् भने करिब १ हजार ७०० श्रमिकले रोजगारी गुमाएका छन्।

पर्यटन तथा धार्मिक क्षेत्रमा पनि क्षति पुगेको छ। १९९ वटा होटल तथा रेस्टुरेन्ट र ६ वटा गुम्बा तथा मन्दिर प्रभावित भएका छन्। यातायातका साधनतर्फ ४० वटा बस, २७ वटा ट्रक र १०३ वटा कन्टेनर बाढीले बगाएको वा बेपत्ता बनाएको प्रतिवेदनमा उल्लेख छ।

 बैंकिङ क्षेत्रमा पनि करोडौँको क्षति
बाढीपहिरोले वित्तीय क्षेत्रमा समेत असर पारेको छ। प्रतिवेदनअनुसार १७ वटा बैंक शाखा र नौवटा एटीएम क्षतिग्रस्त भएका छन्। बैंकिङ क्षेत्रमा प्रत्यक्ष रूपमा ७२ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।

यस्तै, २ हजार १२५ जना ऋणीको २ अर्ब ४२ करोड ८० लाख रुपैयाँभन्दा बढी कर्जा जोखिममा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यसले प्रभावित क्षेत्रका व्यवसायी, किसान तथा ऋणीको आर्थिक पुनः स्थापनामा थप चुनौती सिर्जना गर्ने देखिएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button