तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा पहिलोपटक पेट्रोल पम्प सञ्चालन 

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–३, तुम गेरूनीमा जिल्लाकै पहिलो व्यवस्थित पेट्रोल पम्प सञ्चालनमा आएको छ। स्थानीय पर्यटन व्यवसायी नेता प्रसाद चौलागाईंको करिब ४ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको अनुसा फ्युल सप्लायर्स एन्ड डिस्टिब्युटर्स प्रालि आइतबारदेखि सञ्चालनमा आएको हो।

विसं २०८० कात्तिक १९ गते निर्माण सुरु गरिएको पेट्रोल पम्प करिब तीन वर्षपछि सञ्चालनमा आएको हो। पम्पमा पेट्रोल र डिजेल दुवै प्रतिलिटर २२० रुपैयाँमा बिक्री भइरहेको छ।

यसअघि मुगुमा व्यापारीहरूले फाटफुट रूपमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आए पनि पर्याप्त इन्धन उपलब्ध नहुँदा स्थानीयवासी, यातायात व्यवसायी र पर्यटकले समस्या भोग्दै आएका थिए। विशेष गरी मोटरसाइकल, जिप, ट्रक तथा स्काभेटर सञ्चालनमा इन्धनको अभावले कठिनाइ हुने गरेको थियो।

पेट्रोल पम्पका सञ्चालक नेता प्रसाद चौलागाईंले जिल्लामा लामो समयदेखि देखिँदै आएको इन्धनको समस्या समाधान गर्न र स्थानीयवासी, यातायात व्यवसायी तथा रारा घुम्न आउने पर्यटकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले लगानी गरेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button