तपाईँ सुन्दै हुनुहुन्छः

सुर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता  सुरु

भक्तपुर । सुर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता २०८३ सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा सुर्यविनायक नगरपालिका–१०, चित्तपोलस्थित खेलमैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो ।

असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका १० वटा टिमका करिब १८० खेलाडी सहभागी छन् । 

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख वासुदेव थापाले आफूहरू निर्वाचित भएर आएपछि भौतिक विकाससँगै मानवीय विकास, रोजगारी अभिवृद्धि र खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिएको बताउनुभयो । 

नगरपालिकाले खेलकुदका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै उहाँले फुटबल रङ्गशालाका लागि छुट्टै चार लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्नुभयो ।

उपप्रमुख सरिता तिम्सिना भट्टराई,प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य,नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष सापकोटा, वडा नं. १० का वडाध्यक्ष शिवराम राउत ,कार्यपालिका सदस्य शर्मिला बस्नेत लक्साल लगायतले खेलकुदलाई रचनात्मक रूपमा अघि बढाउने र स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 

नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले खेलाडीको प्रतिभा पहिचान, खेलकुदको विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नगरको पहिचान स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तृतीय हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, चौथो हुने टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button