तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी सम्मानित 

भक्तपुर । सूर्यविनायक नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको छ  ।

नगरपालिकाको खेलकुद विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले खेलाडी तथा प्रशिक्षकलाई नगद र प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।

कराँते, तेक्वान्दो, फुटबल, साभाते, रग्बी, भारोत्तोलन, भलिबल, शारीरिक सुगठन, कबड्डी र हक्कीसहित विभिन्न विधाका खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन् ।

कराँतेतर्फ साफ च्याम्पियनसिपका स्वर्ण पदक विजेता रामशरण त्वाती तथा अन्तर्राष्ट्रिय पदक विजेता सन्ध्या नगरकोटी, समीक्षा नगरकोटी र सञ्जु नगरकोटी सम्मानित हुनुभयो । 

उत्कृष्ट प्रशिक्षकका रूपमा विक्रम लामालाई सम्मान गरिएको छ । तेक्वान्दोतर्फ अन्तर्राष्ट्रिय पदक विजेता वैभवी सापकोटा र प्रभुराम केसी सम्मानित हुँदा प्रशिक्षक शेरबहादुर थापा मगरलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।

फुटबलतर्फ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गंगाराम देउजा तथा ग्रासरुटतर्फ ६–१० वर्ष उमेर समूहका उत्कृष्ट खेलाडी शिवम् केसी र ११–१६ वर्ष समूहका पुजन हिङ्ङजु सम्मानित हुनुभयो । 

अन्तर्राष्ट्रिय पदक दिलाउने बसिल त्वायना, एकिन कासुला, आरती सिलवाल र प्रभुराम केसीलाई पनि सम्मान गरिएको छ । रग्बीतर्फ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता निरोज कार्की र विवस बासु तथा साफ गेम्समा भारोत्तोलनतर्फ पदक विजेता लक्ष्मी बन सम्मानित हुनुभयो ।

त्यस्तै भलिबलतर्फ रुपककुमार विष्ट, शारीरिक सुगठनतर्फ अन्तर्राष्ट्रिय पदक विजेता सनम मुलगुठी, कबड्डीतर्फ राष्ट्रिय पदक विजेता रुपक भुजु र हक्कीतर्फ राम ढुङ्गानालाई सम्मान गरिएको छ । खेलकुद क्षेत्रमा उत्कृष्ट विद्यालयका रूपमा अरनिको माध्यमिक विद्यालयलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा सहभागी खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्र, नगद रु २० हजार ,१५ हजार ,१० हजार ,८ हजार र ५हजार नगद तथा मायाको चिनो प्रदान गरिएको थियो । नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापाले नगरभित्र खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। 

कार्यक्रममा नगरपालिकाका प्रमुख थापा, उपप्रमुख सरिता तिम्सिना भट्टराई प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नगर खेलकुद विकास समितिका पदाधिकारी, जनप्रतिनिधि, विभिन्न खेल संघका प्रतिनिधि, प्रशिक्षक तथा खेलाडीहरूको सहभागिता  रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button