शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्नुपर्छ : मुख्यमन्त्री थापा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्राप्त शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसको आयोजनामा शुक्रबार हेटौँडामा भएको प्रथम स्नातक सम्मेलन (फस्र्ट ग्राजुएट कन्फ्रेन्स) कार्यक्रममा मुख्यमन्त्री थापाले वन क्षेत्रले वातावरणीय सन्तुलन, जैविक विविधता, जलाधार, माटो संरक्षण र नागरिकको जीविकोपार्जनमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले वर्तमान समयमा जलवायु परिवर्तन, वन डढेलो, जैविक विविधताको ह्रास र मानव–वन्यजन्तु द्वन्द्व जस्ता विषयहरू प्रमुख चुनौतीका रूपमा देखापरेको उल्लेख गर्दै ती समस्याहरूको समाधानका लागि सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय र निजी क्षेत्रबीच सहकार्य अनिवार्य रहेको औँल्याउनुभयो ।
वन विज्ञान अध्ययनबाट उत्पादित दक्ष जनशक्तिको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा पूर्ण रूपमा प्रयोग गरिनुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री थापाले प्राकृतिक स्रोत संरक्षण र आर्थिक विकास बीच उचित सन्तुलन कायम गर्दै बागमती प्रदेशलाई दिगो विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताउनुभयो । अनुसन्धानलाई केवल कागजी अध्ययनमा सीमित नराखी नीति निर्माण र स्थानीय स्तरका समस्याहरूको समाधानसँग जोड्नुपर्नेमा जोड दिँदै उहाँले युवाहरूलाई आफ्नो ज्ञान र सीपलाई वन, वातावरण र जैविक विविधताको संरक्षणमा लगाउन आह्वान समेत गर्नुभयो ।
विश्वविद्यालयलाई ज्ञान निर्माण, नवीन अनुसन्धान र नयाँ विचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने राज्यको दायित्व रहेको बताउँदै मुख्यमन्त्री थापाले यस्ता सम्मेलनले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता र नीति निर्माताबीच ज्ञान तथा अनुभव आदान–प्रदान गर्न महत्वपूर्ण अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्