तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यद्वारा शपथ ग्रहण

मकवानपुर । बागमती प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शुक्रबार आयोगका नवनियुक्त उपाध्यक्ष डा.देवराज रोका तथा सदस्यहरू डा.दीपक विक्रम थापा क्षेत्री र डा.सुरेन्द्रवर सिंह थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । 

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आयोगमा चार जना पदाधिकारीहरूलाई नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले काठमाडौँको पेप्सीकोलाका डा.देवराज रोकालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । राजनीतिक अर्थशास्त्रमा चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्सबाट विद्यावारिधि गर्नु भएका रोकासँग सरकारी तथा गैरसरकारी क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेको लामो अनुभव रहेको छ । 

उहाँले यसअघि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षका रूपमा समेत कार्य गर्नुभएको छ । 

मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष रोकासहित सुनिता गौतम, डा. दीपक विक्रम थापा र डा. सुरेन्द्रवर सिंह थापालाई आयोगको सदस्यमा नियुक्त गरेको थियो । राजनीतिक दलहरूको सिफारिसका आधारमा गरिएको उक्त नियुक्तिमा रोका र दीपक विक्रम थापा नेकपा एमालेको सिफारिसमा, सुरेन्द्रवर सिंह थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा तथा सुनिता गौतम नेकपाको सिफारिसमा नियुक्त हुनुभएको हो । 

शपथ ग्रहण कार्यक्रममा उपाध्यक्ष रोका, सदस्यहरु डा. दीपक विक्रम थापा र डा. सुरेन्द्रवर सिंह थापाले शपथ ग्रहण गर्नुभएको छ, भने अर्का सदस्य सुनिता गौतमको शपथ भने पछि हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button