‘सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि विधेयक तर्जुमाको तयारी भइरहेको छ’
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा दूरसञ्चार सेवाका संरचनामा करिब आठ करोड ८५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकको विभिन्न समयमा उठेका विषयमा जवाफ दिँदै मन्त्री डा. तिमिल्सिनाले त्यस क्षेत्रका एकसय २० साइटबाट सेवा सञ्चालन भएकोमा ३ वटा पूर्ण रुपमा क्षति भएको र ८३ वटामा आंशिक क्षति पुगेको जानकारी दिँदै आंशिक क्षति पुगेका साइटहरू सञ्चालनमा आइसकेको जानकारी दिनुभयो ।
यस्तै त्यस क्षेत्रमा रहेको ६५ दशमलव ३ किलोमिटर फाइबर लाइन नेटवर्कमध्ये ३७.९ किलोमिटरमा क्षति पुगेकोमा हालसम्म २७.४ किलोमिटर मर्मत सम्भार भई सञ्चालनमा आएको बताउनुभयो ।
यस्तै बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूका दुई सय ९१ साइटमा क्षति पुगेकोमा दुई ४६ वटा साइटहरू सञ्चालनमा आइसकेको र बाँकी ४५ वटा साइटमा काम भइरहेको पनि मन्त्री डा. तिमिल्सिनाले जानकारी गराउनुभयो ।
मन्त्री डा. तिमिल्सिनाले पछिल्लो समय बढ्दै गएको सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि सरकारका निकायहरूले सक्रियता बढाएको र आवश्यक कानुनी व्यवस्थाका लागि सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयक तर्जुमाको तयारी गरिरहेको जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्