तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक परिवर्तनमा मधेशको भूमिका अग्रणी : संयोजक प्रचण्ड

बारा । बाराको कलैयामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले नेपालको हरेक ऐतिहासिक राजनीतिक परिवर्तनमा मधेशको भूमिका अग्रणी रहँदै आएको बताउनुभयो । मधेशमा उठेका राजनीतिक तथा सामाजिक मुद्दाहरू नै विगतमा राष्ट्रिय राजनीतिका प्रमुख मुद्दा बन्ने गरेको उहाँको भनाइ थियो ।

पछिल्लो समय मोबाइल तथा सामाजिक सञ्जालमार्फत बिहानदेखि बेलुकासम्म निरन्तर देखाइने नकारात्मक सामग्रीले मानिसको सोच र धारणामा प्रभाव पारिरहेको उहाँले बताउनुभयो । पुराना सबै पार्टी खराब र नयाँ सबै पार्टी राम्रा हुन् भन्ने धारणा जनताको दिमागमा निर्माण गर्ने प्रयास भइरहेको भन्दै उहाँले राजनीतिक दल र तिनले गरेका योगदानको वस्तुनिष्ठ मूल्याङ्कन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी सङ्ख्यात्मक रूपमा सानो भए पनि विचारका हिसाबले ठूलो रहेको बताउनुभयो । विचार, नीति र विकासलाई केन्द्रमा राखेर अघि बढ्ने पार्टीका रूपमा नेकपालाई स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो । 

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उहाँले पार्टीको अवस्था बलियो बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेता तथा कार्यकर्तालाई मनोबल उच्च राख्दै सङ्गठन निर्माण, जनताको समस्या समाधान तथा पार्टीका विचार र नीतिलाई जनस्तरसम्म पुर्‍याउन सक्रिय हुन आग्रह गर्नुभयो । 

बारा जिल्ला संयोजक गीता कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादव, मधेशी मोर्चाका अध्यक्ष मातृका यादव लगायत अन्य केन्द्रीय तथा स्थानीय नेताहरूले पार्टी एकतालाई व्यवहारमा कार्यान्वयन गर्दै सङ्गठनलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button