तपाईँ सुन्दै हुनुहुन्छः

पहिलोपटक साइबर सुरक्षा प्रतियोगिताको तयारी

रुपन्देही । साइबर सुरक्षा चुनौती बढिरहेको बेला यही क्षेत्रमा लामो समयदेखि काम गरिरहेको युवा पुस्ताले यो क्षेत्रमै पहिलोपटक साइबर सुरक्षा प्रतियोगिता गर्न लागेको छ ।

साइबर सुरक्षा तथा सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी, युवा तथा प्रविधि प्रेमीलाई लक्षित गरी बुटवलमा ‘नेपाल साइबरसिल्ड–२०२६’ प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगितामा साइबर सुरक्षासम्बन्धी व्यावहारिक ज्ञान, समस्या समाधान गर्ने क्षमता तथा प्राविधिक दक्षता परीक्षण गरिने आयोजक रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले जनाएको छ । प्रतियोगितामा कुल दुई लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार राखिएको र पहिलो चरणमा अनलाइन तथा दोस्रो चरणमा भौतिक सहभागितामै यस्तो प्रतियोगिता गर्न लागिएको हो ।

पहिलो चरणको छनोट प्रतियोगिता असोज १७ गते अनलाइन माध्यमबाट हुनेछ । उक्त चरणमा साइबर सुरक्षासम्बन्धी विभिन्न चुनौती समाधान गर्दै सहभागीले अंक प्राप्त गर्नेछन् । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्ने १० टोली अन्तिम चरणका लागि चयन हुनेछन् । अन्तिम चरणको प्रतियोगिता आगामी कात्तिकमा भैरहवामा आयोजना गरिने आयोजकले जनाएको छ । अन्तिम चरणमा सहभागी टोलीले आफ्नो प्रणाली सुरक्षित राख्दै प्रतिस्पर्धी टोलीका प्रणालीमा रहेका कमजोरी पहिचान तथा चुनौती समाधान गर्नुपर्नेछ ।

प्रतियोगितामा एक्लै वा दुईदेखि चार जनासम्मको टोली बनाएर सहभागी हुन सकिनेछ । साइबर सुरक्षामा रुचि भएका विद्यार्थी, सूचना प्रविधिसम्बन्धी पेशाकर्मी तथा युवाले प्रतियोगितामा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । प्रतियोगिताका कार्यक्रम संयोजक सन्देश आचार्यले नेपालमा साइबर सुरक्षाप्रति युवाको रुचि र सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।

“साइबर सुरक्षाको क्षेत्रमा रुचि राख्ने युवालाई आफ्नो ज्ञान र सीप व्यावहारिक रूपमा प्रस्तुत गर्ने अवसर दिनु प्रतियोगिताको मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो, “यस्ता प्रतियोगिताबाट सहभागीले वास्तविक साइबर सुरक्षा चुनौती समाधान गर्ने अनुभव प्राप्त गर्नेछन् ।” रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष इन्जिनियर अधीश ढकालले डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा साइबर सुरक्षाको महत्व पनि बढेकाले युवालाई यस क्षेत्रतर्फ आकर्षित गर्न प्रतियोगिता उपयोगी हुने बताउनुभयो ।

क्लबका सचिव समीर पाण्डेले प्रतियोगिताले साइबर सुरक्षामा रुचि राख्ने युवालाई आफ्नो क्षमता परीक्षणसँगै नयाँ कुरा सिक्ने र समान रुचि भएका व्यक्तिसँग अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बताउनुभयो । साइबर सुरक्षाको क्षेत्रमा व्यावहारिक सीप परीक्षणका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण माध्यम मानिन्छन् । सहभागीले विभिन्न सुरक्षा कमजोरी पहिचान गर्ने, चुनौती समाधान गर्ने र निर्धारित सङ्केत प्राप्त गर्ने कार्यमार्फत अंक हासिल गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो चरणमा प्रश्न तथा चुनौती समाधानमा आधारित विधि अपनाइनेछ भने अन्तिम चरणमा आफ्नो प्रणालीको सुरक्षा कायम राख्दै प्रतिस्पर्धीको प्रणालीमा रहेका कमजोरी पहिचान गर्ने विधिबाट प्रतिस्पर्धा गराइनेछ । यसबाट सहभागीको साइबर सुरक्षा ज्ञानसँगै तार्किक सोच, समस्या समाधान गर्ने क्षमता र व्यावहारिक प्राविधिक सीप परीक्षण हुने प्राविधिक संयोजक निखिल अर्यालले जानकारी दिए । सातै प्रदेशबाट सहभागी हुने यो कार्यक्रममा युवा पिँढीको धेरै चासो रहेको जनाइएको छ । अध्यक्ष ढकालका अनुसार यस कार्यक्रमलाई धेरै स्थानीय सरकारले साझेदारी गर्नका लागि प्रस्ताव गरेको तर पहिलो चरणको भएकाले अहिले नै सबैलाई सहभागी बनाउन समस्या रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button