तत्काल राहतको व्यवस्था गर्न सांसदहरूको माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण पुगेको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभएको छ ।

सांसदहरुले महाकाली नदीको दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल, कालीगण्डकी करिडोर अन्तर्गतका मुस्ताङ, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा लगायतका जिल्लामा मोटरेबल पुल तथा सडकमा क्षति पुगेको जानकारी गराउँदै प्रभावित क्षेत्रमा विद्युत्, सञ्चार र सडक सेवा सुचारु गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै बैठकमा सांसदहरुले मनाङमा गएको हिउँ पहिरोमा परी हराइरहेकाहरूको खोजी गर्न, विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउन सहजीकरण गर्न र बैङ्क खाता खोल्न नपाउँदा पोल्यान्डमा काम गर्ने नेपाली युवाहरूले भोगेको समस्या समाधानको पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले चितवनको भरतपुरमा मानव बस्तीमा पसेर गैँडाले एक जनालाई आक्रमण गरी घाइते बनाएको भन्दै मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न, चाडपर्वका बेला बढेको बजार महँगी तथा कालोबजारी नियन्त्रण गर्न, चाडपर्वका बेला सडकमा यात्रुको चाप बढ्ने भएकाले सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसअघि बैठकको सुरुमा गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
सभामुख डोल प्रसाद अर्यालले समय दिएपछि श्रम, संस्कृति पार्टीका सांसद अम्बिकादेवी सङ्ग्रौलाले प्रधानमन्त्री शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भनेर दिनुभएको अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्