तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिका नेपाल सहयोगी समाजद्वारा भोटेकोशी बाढीपीडितका लागि ९३ हजार डलर सहयोग हस्तान्तरण

काठमाडाैँ। अमेरिकाको भर्जिनियामा सक्रिय ‘अमेरिका नेपाल सहयोगी समाज’ (America Nepal Helping Society – ANHS) ले नेपालमा हालै आएको रसुवा–भोटेकोशी बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनस्र्थापनाका लागि संकलन गरिएको ९२,९६४ अमेरिकी डलर (अनुमानित १ करोड ४२ लाख नेपाली रुपैयाँ) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएका नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनाललाई न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावास (Consulate General of Nepal, New York) मा आयोजित एक कार्यक्रमबीच ANHS का पदाधिकारी तथा प्रतिनिधिहरूले उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएकाे हाे।

सहयोग रकमको चेक ग्रहण गर्दै परराष्ट्रमन्त्री खनालले संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो। प्राप्त रकमलाई सही ढङ्गले सदुपयोग गरिने विश्वास दिलाउँदै मन्त्री खनालले एएनएचएसका प्रतिनिधिहरूले दिएका सुझाव र विदेशमा बस्ने नेपालीहरूका समग्र समस्या समाधानका लागि नेपाल सरकार सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो।

सो कार्यक्रममा अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष कामना पन्थीले एएनएचएसको संक्षिप्त परिचय तथा गरिरहेका कामको बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै बोर्ड अफ ट्रष्टीजका अध्यक्ष केदार प्रसाद तिम्सिना, राहत संकलन समितिका संयोजक मधुसुदन पन्थी, संस्थाका पूर्व अध्यक्ष पदमराज रेग्मी र पूर्व अध्यक्ष कमला खरेलले प्रवासमा बसोबास गर्ने नेपालीहरुका समस्या तथा समाधानको लागि नेपाल सरकारले तत्काल गर्नसक्ने उपायको बारेमा सुझाव समेत दिनुभएको थियो । नेपालका लागि अमेरिकाका कार्यवाहक राजदुत शरदराज आरणको समन्वयमा कार्यक्रमको संयोजन न्यूयोर्क स्थित महावाणिज्यदुत दधिराम भण्डारीले गर्नुभएको थियो भने उपवाणिज्यदुत बलराम पाण्डेले व्यवस्थापकीय सहयोग पु¥याउनुभएको थियो । 

सहयोग रकम संकलनको लागि संस्थाका पूर्व संरक्षक एवं सल्लाहकार मधुसुदन पन्थीको संयोजकत्वमा, बोर्ड अफ ट्रष्टीजका सभापति केदार प्रसाद तिम्सिना, वर्तमान कार्यसमिति अध्यक्ष कामना पन्थी, पूर्व अध्यक्षहरु– सागर कँडेल, पदमराज रेग्मी, कमला खरेल, कमल भट्टराई, जानु ओझा, संस्थाका वीत्त प्रमुख तिलक खरेल, वर्तमान कार्यसमितिका महासचिव विष्णु न्यौपाने र कोषाध्यक्ष धुर्व बराल सदस्य रहेको ११ सदस्यीय राहत संकलन समिति निर्माण गरिएको थियो । सो समितिले एएनएचएसका सम्पूर्ण सदस्यहरु, स्थानीय संघ संस्था तथा व्यवसायी एवं विभिन्न दाताहरुलाई संस्थाले स्थापना गरेको भोटेकोशी बाढीपहिरो राहतकोषमा आफ्नो इच्छा अनुसारको रकम सहयोग गर्न अनुरोध गरेको थियाे। अमेरिका नेपाल सहयोगी समाजले भोटेकोशीमा हिम सुनामी गएको लगत्तै भर्जिनियाको न्याक भवनमा दीप प्रज्वलन गरेर मृतकहरुप्रति भावपूर्वक सम्मान र श्रद्धासुमन अर्पण गरेको थियो ।

सन् २००८ मा अमेरिकाको डिसी मेट्रो एरिया अन्तर्गत भर्जिनिया राज्यको मनाससमा स्थापना भएको नेपालीहरुको साझा संस्था अमेरिका नेपाल सहयोगी समाज विधिवत रुपमा अमेरिकाको कानुन ५०१ (सी) ३ प्रावधान अनुसार स्थापना गरिएको गैरनाफामूलक संस्था हो । स्थापनाकालदेखि नै विभिन्न सामाजिक एवं रचनात्मक कामको माध्यमबाट यो संस्था अमेरिका भर स्थापित तथा नेतृत्वदायी संस्थाको रुपमा परिचित हुँदै आएको छ ।

संस्थाले नेपाली भाषा, कला, संस्कृति तथा परम्परालाई अमेरिकासम्म विस्तार गर्नको लागि निरन्तर रुपमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । त्यसका अतिरिक्त जति बेला हाम्रो मातृभूमि नेपालमा विभिन्नखाले विपत्तीहरु आइपर्छन् त्यसमा मल्हम–पट्टी लगाउने प्रयास पनि गरिरहेको छ । सन् २०१५ मा नेपालमा आएको बिनाशकारी भू–कम्प पश्चात् तत्काल राहत संकलन गरी नेपालका विभिन्न स्थानमा प्रत्यक्षरुपमा संस्थाका प्रतिनिधिहरु गई राहत वितरण गर्नुका साथै बाँकि रहेको रकम नेपाल सरकारको अमेरिका स्थित नेपाली राजदुतावासमा हस्तान्तरण समेत गरिएको थियो । अमेरिका नेपाल सहयोगी समाजले अमेरिका, मातृभूमि नेपाल तथा अन्य स्थानका जो कोहिलाई समेत विपत्तीको समयमा सहयोग गर्ने गर्दछ ।

यो संस्थाले नेपाली भाषा, कला र संस्कृतिलाई विस्तार गर्नको लागि सन् २०१६ मा अमेरिका नेपाल शिक्षा सदन (ANHS Academy) को स्थापना गरि पठनपाठन गराइहेको छ । अमेरिका नेपाल शिक्षा सदन स्थापना भएको एघारौं बर्षमा हाल अमेरिकाका विभिन्न राज्यहरुबाट २७० जना भन्दा बढि नेपाली मूलका अमेरिकि बालबालिकाहरुले भाषा अध्ययन गरिरहेका छन् । संस्थाले आफ्नैं पाठ्यक्रम प्रकाशन गरि अमेरिका तथा अन्य विभिन्न देशहरुमा सञ्चालित विभिन्न नेपाली पाठशालाहरुले संस्थाले प्रकाशन गरेका पाठ्यपुस्तकहरु अध्ययनको रुपमा प्रयोग गरिरहेका छन् । सो पाठ्यक्रमलाई नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले स्विकृती प्रदान गरेको छ । जुन नेपाली डायस्पोरामा नेपाल सरकारद्वारा स्विकृत पहिलो पाठ्यक्रम पनि हो ।

यस मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरू, स्वयंसेवकहरू, संस्थाका सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूप्रति संस्थाले हार्दिक सम्मान तथा धन्यवाद समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button