तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले सेराङको बाटो बन्द, पाँच सय बढी व्यक्ति खाद्यान्न अभावको जोखिममा

गोरखा ।  उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–५ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र सेराङ पहिरोका कारण बाहिरी सम्पर्कबाट विच्छेद भएको छ । 

गत शनिबार र आइतबार परेको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा सेराङ पुग्ने पदमार्ग अवरुद्ध भएको हो । बाटो बन्द भएपछि त्यहाँ रहेका पाँच सयभन्दा बढी व्यक्ति आवतजावत गर्न नसकी रोकिएका छन् ।

चुमनुब्री–५ का वडाध्यक्ष काल्देन छेवाङ लामाका अनुसार पहिरोले सेराङ गुम्बा, विद्यालय र वृद्धाश्रममा रहेका व्यक्तिहरूलाई प्रभावित बनाएको छ । पदमार्ग अवरुद्ध हुँदा उनीहरूका लागि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति पनि रोकिएको छ ।

उहाँका अनुसार बिही र सेराङबीचको पदमार्गमा १२ देखि १५ स्थानसम्म पहिरो गएको छ । पहिरोका कारण मानिस हिँड्नसमेत कठिन भएपछि खाद्यान्न ढुवानीमा प्रयोग हुने खच्चड पनि बाटोमै रोकिएका छन् ।

चुमनुब्री–५ को बिहीबाट सेराङ गुम्बा पुग्न बस्तीविहीन दुर्गम पदमार्ग हुँदै करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ । यस मार्गमा पहिरोले क्षति पुर्‍याएपछि स्थानीय बासिन्दासँगै सेराङ भ्रमणमा जाने पर्यटकको आवागमन समेत प्रभावित भएको छ ।

वडाध्यक्ष लामाले अवरुद्ध बाटो तत्काल सञ्चालनमा ल्याउन ठूलो बजेट आवश्यक पर्ने बताउनुभयो । वडा कार्यालयको सीमित स्रोतबाट पदमार्ग मर्मत गर्न सम्भव नभएको उहाँको भनाइ छ ।

उहाँका अनुसार तत्कालका लागि पहिरो पन्छाएर अस्थायी आवागमन खुलाउनुपर्ने भए पनि भविष्यमा यस्तो समस्या दोहोरिन नदिन स्थायी संरचना आवश्यक छ । त्यसका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरी सुरक्षित पदमार्ग निर्माणमा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

पहिरोका कारण सेराङमा खाद्यान्न आपूर्ति र आवतजावत प्रभावित भएपछि स्थानीयवासीले सम्बन्धित निकायसँग शीघ्र उद्धार तथा बाटो सञ्चालनका लागि पहल गर्न आग्रह गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button