तपाईँ सुन्दै हुनुहुन्छः

‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्द्वारा आयोजित ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटी क्लबले हात पारेको छ । ४७औँ विश्व पर्यटन दिवसको अवसरमा परिषद्ले असोज ७ गतेदेखि आयोजना गरेको उक्त प्रतियोगिताको आज भएको फाइनल खेलमा जोरपाटी क्लबले ठमेल-११ क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगिता जितेसँगै जोरपाटी क्लबले नगद रु दुई लाख, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, दोस्रो टोली ठमेल-११ ले रु एक लाख नगद, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा ठमेल-११ का प्रकाश रानामगर उत्कृष्ट खेलाडी, जोरपाटीका धर्मेन्द्र लामा उत्कृष्ट गोलकिपर, जोरपाटीका विपीन शाही उत्कृष्ट रक्षक, जोरपाटीकै नितिन लामा उत्कृष्ट गोलकर्ता, ठमेल-११ का दीपक लामा म्यान अफ द म्याच र जोरपाटी क्लब ‘फेयर’ खेल्ने टिम बनेको छ । प्रशिक्षक प्रवीनराज वन्तका अनुसार विधागत विजेताले जनही रु पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा ठमेल पर्यटन परिषद्का अध्यक्ष राजुमान डङ्गोलले खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्नका लागि परिषद्ले दोस्रो संस्करणको ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिता आयोजना गरेको जानकारी दिएका छन् । यस प्रतियोगिताले ठमेलभित्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने अध्यक्ष डङ्गोलको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button