धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई पर्याप्त पुँजी, व्यावसायिक व्यवस्थापन, आधुनिक प्रविधि, प्रभावकारी जोखिम व्यवस्थापन तथा विविधीकृत सेवा प्रदान गर्न सक्षम बजार मध्यस्थकर्ताका रूपमा विकास गर्ने उद्देश्यले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू गरेको छ ।
अर्थ मन्त्रालयले गत भदौ २९ गते जारी गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ को बुँदा नं। ३ मा धितोपत्र दलाल व्यवसायको संस्थागत सुधार तथा सुदृढीकरणसम्बन्धी नीति तत्काल सार्वजनिक गर्ने उल्लेख भएअनुसार उक्त नीति लागू गरिएको बोर्डद्वारा मङ्गलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बोर्डका अनुसार नीतिको मुख्य उद्देश्य सुदृढ पुँजी, व्यावसायिक सुशासन, आधुनिक प्रविधि, प्रभावकारी जोखिम व्यवस्थापन, निष्पक्ष बजार तथा ग्राहक हित संरक्षणमा आधारित सुदृढ, संस्थागत र प्रतिस्पर्धी धितोपत्र दलाल व्यवसायीको विकास गर्नु रहेको छ ।
नीतिले धितोपत्र दलाल व्यवसायीलाई पुँजी, सेवा विविधीकरण, जोखिम वहन क्षमता तथा संस्थागत क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गरेको छ । जसअनुसार श्रेणी ‘क’ मा धितोपत्र व्यापारी, श्रेणी ‘ख’ मा पूर्ण सेवा धितोपत्र दलाल, श्रेणी ‘ग’ मा कारोबारमुखी धितोपत्र दलाल र श्रेणी ‘घ’ मा विशिष्टीकृत धितोपत्र दलाल रहने व्यवस्था गरिएको छ ।
श्रेणी ‘क’ अन्तर्गत धितोपत्र व्यापारीले डिलरसिप, धितोपत्र दलाली तथा आदेश कार्यान्वयन, निक्षेप सेवा, मार्जिन कर्जा, बजार निर्माण, योग्य संस्थागत लगानीकर्ता सेवा, स्वामित्वमा आधारित कारोबार, लगानी परामर्श, अनुसन्धान, लगानी व्यवस्थापन, प्रत्याभूति, अन्तरदिवसीय कारोबार तथा धितोपत्र सापटी र उधारो कारोबारलगायत सेवा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, श्रेणी ‘ख’ को पूर्ण सेवा धितोपत्र दलालले धितोपत्र दलाली तथा आदेश कार्यान्वयन, निक्षेप सेवा, मार्जिन कर्जा, बजार निर्माण, स्वामित्वमा आधारित कारोबार, लगानी परामर्श, अनुसन्धान, लगानी व्यवस्थापन, अन्तरदिवसीय कारोबार तथा धितोपत्र सापटी र उधारो कारोबारलगायत सेवा सञ्चालन गर्न सक्नेछन् ।
श्रेणी ‘ग’ को कारोबारमुखी धितोपत्र दलालले धितोपत्र दलाली तथा आदेश कार्यान्वयन, मार्जिन कर्जा, निक्षेप सेवा, स्वामित्वमा आधारित कारोबार, अन्तरदिवसीय कारोबार तथा धितोपत्र सापटी र उधारो कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ । श्रेणी ‘घ’ अन्तर्गत विशिष्टीकृत धितोपत्र दलालमा ऋणपत्रसम्बन्धी धितोपत्र दलाली, संस्थागत धितोपत्र दलाली तथा बजार निर्माणसम्बन्धी सेवा रहनेछन् ।
बोर्डले बजारको विकास र आवश्यकता हेरी थप श्रेणी सिर्जना गर्न, विद्यमान श्रेणी पुनः वर्गीकरण गर्न वा थप पुँजीको व्यवस्था गरी धितोपत्र दलाल व्यवसायीलाई थप सेवा प्रदान गर्न सक्ने व्यवस्था पनि नीतिमा गरेको छ ।
नीतिले धितोपत्र दलाल व्यवसायीले सबै प्रकारका सेवा स्वतः सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ । मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो, उधारोमा धितोपत्र बिक्री, अन्तरदिवसीय कारोबार तथा बजार निर्माणजस्ता गतिविधिका लागि छुट्टाछुट्टै स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी ग्राहक गुनासो व्यवस्थापन, लगानीकर्ता क्षतिपूर्ति कोष तथा ग्राहकलाई दैनिक वा वास्तविक समयमै कारोबारसम्बन्धी विवरण उपलब्ध गराउने व्यवस्थालाई पनि नीतिमा समेटिएको छ । सङ्कटग्रस्त धितोपत्र दलाल व्यवसायीको व्यवस्थापनका लागि समाधान संरचना निर्माण गर्ने व्यवस्था पनि नीतिमा राखिएको छ । त्यस्तै, नीतिले धितोपत्र दलाल व्यवसायीले तोकिएको न्यूनतम चुक्ता पुँजी मात्र कायम गरेर नपुग्ने गरी जोखिममा आधारित पुँजी पर्याप्तता कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
धितोपत्र दलाल व्यवसायको अनुमतिपत्र प्रणाली उपयुक्तता तथा योग्यताको सिद्धान्त, न्यूनतम वित्तीय क्षमता, जोखिममा आधारित अनुमतिपत्र प्रणाली, सेवामा आधारित स्वीकृति, प्राविधिक तयारी, संस्थागत सुशासन, लगानीकर्ता संरक्षण, सबल सञ्चालन, पारदर्शिता तथा जबाफदेहिता र समानुपातिकताको सिद्धान्तमा आधारित हुने बोर्डले जनाएको छ ।
बोर्डले धितोपत्र दलाल व्यवसायमा प्रविधिगत क्षमता अभिवृद्धिलाई पनि नीतिको महत्त्वपूर्ण पक्ष बनाएको छ । जसअनुसार डिजिटल ग्राहक पहिचान, मल्टिफ्याक्टर प्रमाणीकरण, जोखिम व्यवस्थापन प्रणाली, साइबर सुरक्षा संरचना तथा नियमित सूचना प्रविधि परीक्षणजस्ता कार्यलाई अनिवार्य बनाउने व्यवस्था गरिएको छ । यसबाट धितोपत्र कारोबारलाई सुरक्षित, भरपर्दो र प्रविधिमैत्री बनाउँदै ग्राहक तथा लगानीकर्ताको कारोबारसम्बन्धी सूचना र सम्पत्तिको सुरक्षा बलियो बनाउने लक्ष्य राखिएको छ ।
नीतिले धितोपत्र दलाल व्यवसायमा मर्जर, प्राप्ति तथा व्यावसायिक एकीकरणलाई सहजीकरण गर्ने व्यवस्थासमेत गरेको छ । बोर्डका अनुसार यसबाट साना आकार, सीमित सेवा र व्यक्ति केन्द्रित व्यवस्थापनमा आधारित विद्यमान दलाल व्यवसायलाई क्रमशः पर्याप्त पुँजी, व्यावसायिक व्यवस्थापन, आधुनिक प्रविधि, सबल जोखिम व्यवस्थापन र विविधीकृत सेवासहितको संस्थागत बजार मध्यस्थकर्ताका रूपमा रूपान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विद्यमान धितोपत्र दलाल व्यवसायीलाई नयाँ मापदण्डमा रूपान्तरण गर्न संक्रमणकालीन अवधि प्रदान गरिनेछ । उक्त अवधिमा विद्यमान व्यवसायीको अवस्थाको मूल्याङ्कन, योजना निर्माण, पुँजी तथा प्रविधि स्तरोन्नति र पुनःवर्गीकरणको प्रक्रिया अघि बढाइने बोर्डले जनाएको छ ।
धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति संस्थागत सुदृढीकरण, बजार सेवा विस्तार र एकीकृत धितोपत्र मध्यस्थता प्रणालीको विकास गरी तीन चरणमा क्रमशः कार्यान्वयन गरिने जनाइएको छ ।
बोर्डका अनुसार पुँजी बजारका प्रमुख मध्यस्थकर्ताका रूपमा रहेका धितोपत्र दलाल व्यवसायीको वित्तीय क्षमता, संस्थागत सुशासन, प्रविधिगत क्षमता, जोखिम व्यवस्थापन, ग्राहक संरक्षण र व्यावसायिक दक्षताले समग्र पुँजी बजारको गुणस्तर, प्रभावकारिता र विश्वसनीयतामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले नयाँ नीति ल्याइएको हो ।








प्रतिक्रिया राख्नुहोस्