तपाईँ सुन्दै हुनुहुन्छः

‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित

काठमाडौँ । महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ को दोस्रो संस्करणको आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । यो पुस्तक द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशन गरिएको हो ।  

त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा डा दुबीनन्द ढकाल, सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्की, लैङ्गिक अध्ययन विभागकी प्रमुख जमुना शिवाकोटी, द स्टोरी किचेनका अध्यक्ष डा जया लुइँटेललगायतले सो पुस्तकको संयुक्त रूपमा विमोचन गर्नुभएको थियो । 

पच्चीस लेखकका आलेख समावेश सो पुस्तकमा नेपालका महिलाको अनुभव, सङ्घर्ष तथा राजनीतिक सामाजिक आन्दोलनमा उनीहरूले पुर्‍याएको योगदान समेटिएको छ । सो कार्यक्रममा त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्राडा ढकालले समाजमा बाहिर नल्याइएका धेरै विषयवस्तु सो पुस्तकमा समेटिएको उल्लेख गर्नुभयो ।

सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले सन्धान र पुस्तकको बाहिरी पृष्ठमा औँठाछापको प्रयोग गर्नुको अर्थ पहिल्याउँदै यस पुस्तकले हरेक महिलाको आफ्नै पहिचान प्रदान गरेको धारणा राख्नुभयो । त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा डा कुन्दन अर्यालले यस पुस्तकले नेपाली समाजभित्रका वैकल्पिक विषयको राम्ररी पहिचान र उठान गरेको स्पष्ट गर्नुभयो । 

समाजशास्त्री डा मीना पौडेल, अधिवक्ता कुन्जनी परियार, महिला मानवअधिकारकर्मी श्यामकुमारी साह र जेनजी अभियन्ता मोनिको निरौलाले पुस्तकले सामाजिक विविधताभित्रका विविध सवाल समेटेको बताउनुभयो । त्रिवि लैङ्गिक अध्ययन केन्द्रीय विभागका प्रमुख जमुना शिवाकोटी, द स्टोरी किचेनका अध्यक्ष डा जया लुइँटेल, कार्यकारी सदस्य निर्मला ज्ञवालीले पनि सो पुस्तक र यसको प्रकाशन प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button