तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी अस्पतालको ३०० मिटर वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय डोटीलाई परिपत्र गर्दै सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा १० को व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

ऐनमा सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको परिसरको ३०० मिटर वरिपरि निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङहोम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था छ ।

मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयनका लागि विसं २०७९ माघ २९ गते ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ सहित स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिइसकेको जनाएको छ ।

मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले ऐन तथा मापदण्ड हालसम्म प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले पुनः कडाइका साथ कार्यान्वयन गर्न ताकेता गरिएको बताउनुभयो ।

उहाँका अनुसार आज मन्त्रीस्तरीय निर्णयबाट ऐन तथा मापदण्ड कार्यान्वयनमा कडाइ गर्न स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button