रसुवा भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा करिब ५२ अर्ब बराबरको क्षति: पर्यटन मन्त्री पौडेल
काठमाडौँ। विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) मनाउँदै गर्दा नेपालको पर्यटन क्षेत्र पुनः एकपटक ठूलो प्राकृतिक विपत्तिको सामना गरिरहेको छ। कोभिड-१९ को असरबाट बिस्तारै लयमा फर्किन खोजेको पर्यटन व्यवसायलाई गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र पहिरोले ठूलो धक्का दिएको छ।

बाढीका कारण अझै पनि ६०६ जना विदेशी पर्यटक तथा १८८ जना पर्यटन श्रमिक/व्यवसायी बेपत्ता छन्। पर्यटकीय पूर्वाधार, पदमार्ग, होटेल तथा होमस्टेहरू ध्वस्त भएका छन् भने तातोपानी र रसुवागढी क्षेत्रका पर्यटकीय गतिविधि प्रायः ठप्प छन्।
यसै सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलसँग रेडियो नेपालकर्मी उद्धव सिंह च्वागढीले गर्नुभएकाे कुराकानीको सम्पादित अंश:
विश्व पर्यटन दिवसका अवसरमा भोटेकोशी बाढीले पुर्याएको क्षतिको प्रारम्भिक आकलन कसरी भइरहेको छ?
सर्वप्रथम विश्व पर्यटन दिवसका अवसरमा सम्पूर्ण पर्यटन व्यवसायी र पर्यटकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै, नेपालका अधिकांश भूभाग सुरक्षित र खुल्ला रहेको जानकारी गराउन चाहन्छु।
भदौ १० को अप्रत्याशित भोटेकोशी बाढीले पर्यटन उद्योगमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक अनुमान अनुसार करिब ५२ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। यसमा ३१ अर्ब ४५ करोड रुपैयाँ प्रत्यक्ष क्षति र २० अर्ब ५८ करोड रुपैयाँ अप्रत्यक्ष (भविष्यमा हुने) क्षति समावेश छ।
हामीले तत्काल उद्धार तथा राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत हेलिकप्टरहरू परिचालन गर्यौँ। त्यसलगत्तै नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र र प्राविधिक सम्मिलित ‘क्विक रेस्पोन्स टिम’ गठन गरी अध्ययन प्रतिवेदन तयार पारेर अर्थ मन्त्रालयमा पेस गरिसकेका छौँ।
मुख्य क्षति विवरण:
- मानवीय क्षति: बाढीमा परेका ६०६ विदेशी पर्यटकमध्ये ३१० जनाको उद्धार गरिएको छ भने बाँकी बेपत्ता छन्। यस्तै १८८ जना पर्यटन श्रमिकहरू बेपत्ता छन्।
- पूर्वाधार क्षति: १४२ वटा होटेल र २,१७० भन्दा बढी कोठा नष्ट भएका छन् (करिब २० अर्बको क्षति)। ६५ वटा रेस्टुरेन्ट, १४३ वटा पर्यटकीय सवारी साधन र ४७ वटा र्याफ्टिङ पूर्वाधार ध्वस्त भएका छन्।
- सांस्कृतिक सम्पदा: २७ वटा धार्मिक तथा पुरातात्त्विक सम्पदाहरू (मठ-मन्दिर, गुम्बा, मस्जिद आदि) मा क्षति पुगेको छ।
प्रभावित व्यवसायी र मजदुरहरूका लागि तत्काल राहत तथा पुनर्स्थापनाका के-कस्ता योजना छन्?
हामी अल्पकालीन र दीर्घकालीन दुवै योजनामा केन्द्रित छौँ। नेपाल पर्यटन बोर्डमा रहेको तर प्रयोगमा नरहेको ‘टिम्स’ (TIMS) फन्डलाई श्रमिकहरूको राहतका लागि सक्रिय गराउने निर्देशन भइसकेको छ।
निजी क्षेत्र र प्रभावित व्यक्तिहरू सम्मिलित समिति बनाएर विस्तृत अध्ययन भइरहेको छ। सोही समितिको सिफारिसका आधारमा अर्थ मन्त्रालयसँगको समन्वयमा सहुलियत र पुनर्स्थापना प्याकेजहरू ल्याइनेछ।
बिग्रिएका पदमार्ग र पूर्वाधारको दीर्घकालीन पुनर्निर्माण रणनीति के छ?
मुख्य पदमार्गहरूमा ठूलो क्षति भएको छैन; करिब ५ किलोमिटर क्षेत्र प्रभावित छ। मनास्लु, तातोपानी लगायतका क्षेत्रमा जोडिने पदमार्गहरूका लागि वैकल्पिक रुट र आवश्यक पूर्वाधार निर्माणको काम सुरु भइसकेको छ। बीचमा आएको चक्रवातको प्रभाव कम भएसँगै पदमार्गहरू पूर्ण रूपमा सञ्चालनमा आउनेछन्।
रोजगार गुमाएका श्रमिकहरूलाई पुनः पर्यटन क्षेत्रमा फर्काउन वा सहायता दिन सरकारले के सोचेको छ?
पर्यटन क्षेत्र रोजगारीको ठूलो आधार हो। बाढीबाट रोजगारी गुमाएका श्रमिक र व्यवसायीहरूका लागि निजी क्षेत्रसँगको सहकार्यमा विशेष तालिम र व्यवसाय पुनरुत्थान सहजीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएका छौँ।
यस विपद्लाई अन्तर्राष्ट्रियकरण गर्दै सहयोग जुटाउन के प्रयास भइरहेका छन्?
बाढीलगत्तै प्रधानमन्त्री उद्धार कोषमा देशभित्र र बाहिरबाट अभूतपूर्व सहयोग प्राप्त भयो। सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघको महासभामा पनि यो विषय गम्भीरताका साथ उठाउनुभएको छ।
नेपालको कार्बन उत्सर्जनमा योगदान ०.०१ प्रतिशतभन्दा पनि कम छ। तर, नगरेको गल्तीको सजाय हामीले भोग्नुपरिरहेको छ। त्यसैले यो केवल राष्ट्रिय संकट नभई ‘जलवायु न्याय’ (Climate Justice) को अन्तर्राष्ट्रिय मुद्दा हो। हिमालहरू सम्पूर्ण दक्षिण एसियाकै पानीका स्रोत हुन्। त्यसैले यसको संरक्षणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग माग्नु हाम्रो अधिकारको विषय पनि हो।
भविष्यका जोखिमबाट जोगिन ‘जलवायु उत्थानशील पर्यटन’ (Climate-Resilient Tourism) को नीति कसरी अघि बढ्दैछ?
“भूगर्भीय दृष्टिकोणले हाम्रा पहाड र नदीहरू नयाँ छन् भने तापक्रम वृद्धिका कारण हिमनदीहरू पग्लिने क्रम तीव्र छ। त्यसैले, हामीले ‘जलवायु उत्थानशील पर्यटन’ को अवधारणा अघि सारेका छौँ। यसअन्तर्गत सुरक्षित स्थानमा वैकल्पिक रुट निर्माण गर्ने, जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने, पर्यटकीय सिजन र तालिमको पुनरावलोकन गर्ने तथा पूर्वतयारी र उद्धार प्रणालीलाई प्रविधिमैत्री बनाउने रणनीति लिइएको छ।”
नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वभर पुर्याउन के-कस्ता प्रचार रणनीति अपनाइएको छ?
घटनालगत्तै केही बुकिङ रद्द भएका थिए। तर, हामीले ‘Nepal Calling’, ‘Nepal is Safe’, र ‘I am in Nepal’ जस्ता प्रवर्द्धनात्मक अभियानहरू चलाएका छौँ।
अहिले बुकिङ रद्द हुने क्रम रोकिएको छ र अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूले पनि नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरिरहेका छन्। आगामी एक-दुई हप्ताभित्र विश्व बजारमा थप प्रभावकारी प्रचार सामग्रीहरू पुर्याइनेछ।
विपद् प्रतिकार्यका लागि तीनै तहका सरकारबीच कसरी समन्वय भइरहेको छ?
प्रधानमन्त्री बालेन्द्र शाहज्यूले प्रभावित पालिका प्रमुखहरूसँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ। बजेट तल्लो तहसम्म पठाइएको छ। स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र बासिन्दाहरूकै सहमतिमा राहत, पुनरुत्थान र बस्ती स्थानान्तरणका कामहरू भइरहेका छन्।
हिमताल फुट्ने जोखिम र पूर्वसूचना प्रणालीबारे सरकारको योजना के छ?
हिमतालहरू बन्ने र पग्लिने प्राकृतिक प्रक्रिया हो। मुख्य कुरा तत्काल सूचना दिने पूर्वसूचना प्रणाली (Early Warning System) को विकास गर्नु हो।
हामीले मेचीदेखि महाकालीसम्म हिमाली क्षेत्रमा प्रविधियुक्त पूर्वसूचना प्रणाली जडान गर्ने, नयाँ तथा पुराना हिमतालहरूको अध्ययन गर्ने र विज्ञान प्रविधि मन्त्रालय, नास्ट, विश्वविद्यालय तथा भूगर्भविद्हरूसँग मिलेर साझा रणनीति बनाउने काम गरिरहेका छौँ।
दसैँ-तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा अवरुद्ध सडक तथा यातायात सहज बनाउन के हुँदैछ?
गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको समन्वयमा सडक सञ्जाल जोड्ने काम तीव्र पारिएको छ। पहिरो पन्छाउने, वैकल्पिक ट्रयाक खोल्ने, र आवश्यक ठाउँमा बेलिब्रिज तथा रोपवे निर्माण गर्ने काम भइरहेको छ। पृथ्वी राजमार्ग सञ्चालन भइसकेको छ। चाडबाड अगावै आवागमन पूर्ण रूपमा सहज हुनेछ।
अन्त्यमा, आम नागरिक र पर्यटकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
नेपाल छोटो दूरीमै ठूलो भौगोलिक र सांस्कृतिक विविधता भएको अद्भुत देश हो। हामी पर्यटनलाई देशको अर्थतन्त्रको बलियो खम्बा बनाउन प्रतिबद्ध छौँ। विपद्का बाबजुद नेपाल सुरक्षित छ र हाम्रा पर्यटकीय गन्तव्यहरू खुला छन्। म सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरूलाई नेपाल भ्रमणका लागि हार्दिक आह्वान गर्दछु। धन्यवाद।








प्रतिक्रिया राख्नुहोस्